रुकुम पश्चिम -२८, असार ।
न गाउँको गरिबीले बाँच्न दिन्छ
न सहरको सुविधाले जीवन सहज बनाउँछ ।
सपनाको भारी बोकेर
ऊ गाउँको धुलो छोड्छ
सोच्छ, सायद सहरले मलाई पनि अँगालो हाल्ला ।
तर सहरले
उसलाई स्वागत गर्दैन
महँगीका काँडाहरूले
उसको पाइला पाइलामा रगत चुहाउँछन्
दिनभर पसिना बेचेर
रातभर भोकसँग सम्झौता गर्छ ऊ ।
उहाँहरूका लागि
सहर उज्यालो हुन्छ
तर गरिबको आँखामा
बत्तीभन्दा धेरै
अँध्यारो बलिरहेको हुन्छ ।
राज्य भने
उसको घाउमा मलम होइन
उल्टै नुन छर्किरहन्छ
न उसको पसिनाको मूल्य छ
न उसको जिन्दगीको हिसाब
ऊ चिच्याउन खोज्छ ।
तर आवाज
महँगीको कोलाहलमा हराउँछ
ऊ रुन खोज्छ
तर आँसु पनि
रोटीभन्दा सस्तो हुँदैन ।
अन्त्यमा,
ऊ शत्रुसँग होइन
आफ्नै निराशासँग हार्छ ।
र यस्तो समाजमा
जहाँ बाँच्नु नै अपराधजस्तो हुन्छ
ऊ आफ्नै जीवनको अन्त्य गर्न बाध्य हुन्छ ।
उफ !
मार्ने हात सधैँ उसको आफ्नै हुँदैन
कहिलेकाहीँ
गाउँको गरिबी
सहरको महँगी
र राज्यको निर्ममता
मिलेर एउटा निर्दोष मान्छेलाई
बिस्तारै… बिस्तारै…
जिउँदै मारिरहेका हुन्छन् ।