रुकुम पश्चिम -९, असार ।
तिम्रो ओछ्यान अर्कैसँग बाँडिएको खबरले तिमी जसरी आफ्नै विश्वासको मृत्युमा रोयौ नि, हो त्यही क्षण मैले पनि बुझेँ-प्रेम केवल आत्मिक हुँदो रहेनछ । यसका आफ्नै भौतिक परिधिहरू पनि हुँदा रहेछन्, जसलाई यो संसारले ‘मर्यादा’ र ‘निष्ठा’ को नाम दिँदो रहेछ ।
तिमीले भन्यौ, प्रेम शरीरमा बस्दैन । तिमी पूर्ण सत्य थियौ । तर प्रिय, हामी त यही भौतिक संसारका प्राणी थियौं नि, जहाँ आत्माको मन्दिरलाई जोगाउन पनि शरीरकै एउटा ओत र सामाजिक पहिचान चाहिँदो रहेछ । तिमी मलाई एउटा पवित्र मन्दिर सम्झिएर प्रार्थना गरिरह्यौ, तर तिमीले यो देखिनौ कि त्यो मन्दिर आफैं भित्रभित्रै कति भत्किँदै थियो, कति कमजोर थियो र कति एक्लो थियो ।
तिम्रो नजरमा म बदलिएँ होला, तर मेरो नजरमा म केवल समय, परिस्थिति र आफ्नै अयोग्यताको अगाडि घुँडा टेक्न विवश भएको एउटा कमजोर मानिस हुँ ।
तिमीलाई लाग्यो म अर्कैसँग बाँडिएँ, तर वास्तविकता के हो भने, म तिमीसँग छुटेपछि आफैंमा कहिल्यै सिंगो रहनै सकिनँ । जुन ओछ्यान वा जुन जीवनको कुरा तिमी गरिरहेकी छौ, त्यो त केवल एउटा सामाजिक सम्झौता र अस्तित्व रक्षाको लडाइँ मात्र हो ।
शरीर त्यहाँ होला, तर मेरो विश्वास, मेरो आत्मीयता र मेरो वास्तविक अनुहार त म त्यही मन्दिरमै अलपत्र छोडेर आएको थिएँ, जहाँ तिमी आज पनि एक्लो भक्त बनेर रोइरहेकी छौ ।
तिमी आफ्नो भ्रम भत्किएकोमा दुःखी छौ । तर म, मैले तिम्रो संसारमा बनाएको त्यो ‘देवता’ को छवि जोगाउन नसकेकोमा पराजित छु । मानिसलाई अरूले दिएको धोकाले भन्दा पनि आफूले आफैंलाई प्रमाणित गर्न नसक्दा बढी पीडा हुने रहेछ । म तिम्रो नजरमा सधैँ उचो भइरहन चाहन्थेँ, तर जीवनको कूर वास्तविकताले मलाई सधैँका लागि तल गिराइदियो । तिमी आफ्नो विश्वासको मृत्युमा रोयौ, म चाहिँ आफ्नै जीवित लास बोकेर हिँडिरहेको छु ।
अब हामीले जतिसुकै सफाइ दिए पनि, जतिसुकै आँसु बगाए पनि वा अतीतका पानाहरू पल्टाएर रोए पनि बदलिएको वास्तविकतालाई परिवर्तन गर्न सकिँदैन । भत्किएको विश्वासलाई फेरि पहिलेकै ठाउँमा ल्याउन असम्भव छ । तिम्रो मनमा मेरो लागि सम्मान मियो, र मेरो मनमा आफैंप्रतिको ग्लानि । यसरी दुखेको र टुटेको मन लिएर सँगै उभिनु भनेको आफैंलाई अझ बढी भत्काउनु र बाँकी रहेको आदरलाई पनि कुरुप बनाउनु मात्र हो ।
त्यसैले, अब थप बहस, स्पष्टीकरण र आरोप-प्रत्यारोप नगरौँ । जे भयो, त्यसलाई नियति र मेरो कमजोरी मानेर अब आआफ्नो बाटो लागौँ । न तिमीले मलाई माफ गर्नु पर्छ, न मैले तिमीबाट कुनै अपेक्षा राख्नुपर्छ । हामी जति नजिक हुन खोज्छौँ, अतीतका यी घाउहरूले उति नै बढी दुखाउनेछन् ।
म तिम्रो पवित्र प्रेमको ऋणी त सधैँ रहनेछु, तर अब हाम्रा गन्तव्यहरू पूर्ण रूपमा फरक भइसकेका छन् ।
आउ, यो अधुरो र दुखद कथालाई यहीँ विसर्जन गरिदिउँ । तिमी आफ्नो त्यो पवित्र र साँचो संसारलाई पुनः जीवित पार्ने प्रयास गर, जहाँ म जस्तो भ्रम र धोकाको कुनै स्थान नहोस् । अनि म मेरो यो पराजित वास्तविकतासँग सम्झौता गर्दै अघि बढ्नेछु ।
म चाहन्छु, तिम्रो आगामी यात्रामा तिमीले त्यस्तो मानिस भेटून्, जसले तिम्रो विश्वासको मन्दिरलाई सधैँ सुरक्षित राखोस् । मेरो गल्तीको सजाय तिम्रो सुन्दर भविष्यले पाउनु हुँदैन ।
तिम्रो जीवनमा फेरि कहिल्यै मेरो छायाँ पनि नपरोस्, यही नै तिम्रो लागि मेरो अन्तिम प्रार्थना र बिदाइ हुनेछ । बिदा हुन्छु प्रिय, आफ्नो ख्याल राख्नु ।
कोही कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ ।
लेखक श्री बराहक्षेत्र माध्यमिक विद्यालय लुङ्ग्री -५, बडाचौर, रोल्पामा कार्यरत हुनुहुन्छ ।