रुकुम पश्चिम -६, असार ।
एउटा सुन्दर गाउँ थियो । त्यहीँ गाउँमा एउटा सानो परिवार । आकाश आफ्नी आमाको एक्लो छोरो थियो । आमा दिनभरि दुःख गरेर उसलाई पढाइन्, हुर्काइन् र सफल बनाइन् । समय बित्दै गयो ।
आकाशको जीवनमा प्रेमिका आशा आइन् । माया प्रेम यति गाढा भयो कि उसले बिस्तारै आमासँग कुरा गर्न, सँगै बस्न र उनको ख्याल गर्न पनि छोड्यो । आमाले केही भनिनन्, केवल छोराको खुसीमा खुसी मानिरहिन् । एक दिन आकाश प्रेमिकासँग घुम्न जाने तयारी गर्दै थियो ।
त्यही बेला आमा अचानक बिरामी भइन् । आमाले कमजोर स्वरमा भनिन्, बाबु, एकछिन मलाई अस्पताल लैजाइदे न ।”
आकाशले हतारिँदै जवाफ दियो, आमा, आज मलाई अरु नै काम गर्नुछ । भोलि जाऔँला । ऊ प्रेमिकासँग घुम्न गयो ।
साँझ घर फर्कँदा आमा ओछ्यानमै थलिएकी थिइन् । छोरालाई देखेर मुस्कुराउँदै भनिन्, बाबु, तिमी खुसी छौ भने म पनि खुसी छु ।
आमाको त्यो मुस्कानमा पीडा लुकेको थियो । आकाशको मन एकाएक भारी भयो । उसले सम्झियो आफूलाई हिँड्न सिकाउने हात, रातभर जागेर स्याहार्ने आँखा र निःस्वार्थ प्रेम र माया ।
उसले आमाको हात समात्दै आँसु झार्यो, आमा, मैले प्रेम खोज्ने क्रममा अगाध माया गर्ने प्रेमकै पहिलो पाठ पढाउने, सिकाउने हजुरलाई नै बिर्सिएछु ।
आमाले उसको टाउकोमा हात राखिन् । त्यही क्षण आकाशले बुझ्यो – संसारमा धेरै सम्बन्ध बन्न सक्छन्, तर आमाको माया जस्तो निःस्वार्थ प्रेम अर्को कसैको पनि हुँदैन ।