रुकुम पश्चिम -२९, वैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित दश दिने समुदायमा आधारित मनोपरामर्श तालिम आज सम्पन्न भएको छ । नेपाल जनजागरण मञ्च रुकुमको आयोजना र युनाइटेड मिसन टु नेपाल कर्णाली प्रदेश सुर्खेत क्लस्टरको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
रुकुम पूर्व र रुकुम पश्चिमका गरी १६ जनाको सहभागिता रहेको तालिममा मनोसामाजिक अवधारणा तथा मनोसामाजिक परिस्थिति, मनोसामाजिक समस्या, मनोसामाजिक सहयोग तथा सहयोगका तरिका, लैङ्गिक हिंसाको अवधारणा, लिङ्ग र लैङ्गिकता, लैङ्गिक हिंसाका प्रकार तथा स्व-हेरचाह लगायतका विषयमा सहजीकरण गरिएको जनाइएको छ ।
समुदायमा बढ्दै गएको मानसिक तनाव, पारिवारिक द्वन्द्व तथा लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरणमा तालिम उपयोगी हुने नेपाल जागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले बताए । समुदाय तहमा मनोसामाजिक सहयोगको आवश्यकता दिनप्रतिदिन बढिरहेको अवस्थामा यस तालिमले सहभागीहरूलाई समुदायमै पुगेर आवश्यक परामर्श तथा सहयोग गर्न सक्षम बनाउने विश्वास लिइएको उनको भनाइ छ ।
त्यस्तै तालिममा सहभागीहरुले तालिमबाट मनोसामाजिक समस्या पहिचान गर्ने, समस्यामा परेका व्यक्तिसँग संवेदनशील व्यवहार गर्ने तथा आवश्यक सहयोग र परामर्श दिने सीप सिक्न पाएको बतायका छन् । ‘पहिले मानसिक समस्या र मनोसामाजिक अवस्थाबारे पर्याप्त जानकारी थिएन । अहिले समुदायमा गएर सचेतना फैलाउन र आवश्यक परेमा सहयोग गर्न आत्मविश्वास बढेको सहभागीहरूको भनाइ छ ।’
तालिम समापन कार्यक्रममा सहभागीहरूले यस्ता व्यवहारिक तथा समुदायमै आधारित तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
तालिमको सहजीकरण ह्युमन नेपाल कैलालीका मनोविद उमेश सिवाकोटी र मनोविद मोनिका खड्काले गरेका थिए ।