रुकुम पश्चिम, -२२, भदौ
कलाकार विल्सन विक्रम राईको निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ भाइटिकाको भोलिपल्ट (कार्तिक -७ गते) प्रदर्शन हुने भएको छ । गत बिहीबार निर्माण पक्षले दुईवटा क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो ।
सार्बजनिक भएको एउटा पोस्टरमा फिल्मका तीन मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुन देखिएका छन् । उनिहरु लिम्बू पहिरनमा देखिएका छन । पोस्टर हेर्दा फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।
दोस्रो पोस्टरमा धीरजले बन्चरो समातेका छन् भने मिरुना कुर्था-सुरुवालमा धीरजतर्फ नजर लगाइरहेकी छन् । पृष्ठभूमिमा चिया बगानको मनमोहक दृश्य देखिन्छ । फिल्म पहाडको जीवनशैली, संस्कृति र प्रेमकथामा आधारित रहेको जस्तो देखिन्छ ।
निर्देशक राई स्वयंको लेखन रहेको ‘मैझारो’मा धीरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । फिल्ममा दयाहाङ राई विशेष भूमिकामा छन् ।
डिबी राई र सरिना लामा निर्माता रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ ।