अमरराज पुन
रुकुम पश्चिम -७, चैत ।
आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट साढे तीन हजार विद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका १५ वटा परीक्षा केन्द्रबाट तीन हजार ६ सय ७० जना विद्यार्थीले एसइई दिन लागेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुकुम पश्चिमका अनुसार साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिक तर्फ एकसय ६ जना र ग्रेड वृद्धितर्फ दुई सय २६ जना विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।
जसमध्ये साधारणतर्फ एकहजार सातसय ३३ छात्र र एकहजार ६ सय पाँच छात्राले एसइई दिनेछन् । त्यस्तै प्राविधिक तर्फ ५८ छात्र र ४८ छात्रा तथा ग्रेड वृद्धितर्फ एकसय ३० छात्र र ९६ छात्राले एसइई दिने कार्यालय प्रमुख तारा प्रकाश पुन मगरले बताए ।
एसइई परीक्षाका लागि १५ जना केन्द्राध्यक्ष सहित २४ जना सहायक केन्द्राध्यक्ष, एकसय ८३ जना निरीक्षक, ३७ जना परीक्षा सहायक, ७३ जना कार्यालय सहयोगी र दुईसय २५ जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
एसइई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।