रुकुम पश्चिम -२९, माघ ।
सिर्जना सिज्जू बहिनीको जन्मदिन हिजै हुनुपर्छ, तर फेसबुकले आज सम्झायो । सर्वप्रथम त बहिनीका सबै सपनाहरू पूरा होऊन्, हरेक यात्राहरू सफल होऊन्, सुस्वास्थ्य दीर्घजीवनको मस्तै मस्तै शुभकामना छ ।
जसलाई राज्यले बेलाबखत सम्झनुपर्थ्यो, जसलाई उनको जन्मभूमिले हरघडी सम्झनुपर्थ्यो, जसलाई उनका इष्टमित्र र साथीभाइहरूले बिहानबेलुका सम्झनुपर्थ्यो, हामी उनलाई काम नपरी सम्झँदैनौँ । उनीसँग फेसबुक साथीमा जोडिएको भए वर्षको एकचोटि जुकरवर्गले सम्झाउँदा सम्झन्छौँ । वा कुनै कुनाको वा लेकतिरको यात्राको भिडियो राखेको भए सम्झन्छौँ र भन्छौँ कुनै काम नपाएकी यो केटीलाई कम्ता मोजमस्ती छैन ।
हामीहरूमध्ये पनि कोही साथी यात्रामा निस्किएको कुरा वा फोटो भिडियो शेयर गर्यौँ भने निकटस्थ मित्रको कमेन्ट आइहाल्छः ‘मोज गर यार् मोज । हामीलाई त समय नै छैन, तिमीहरूलाई पो मोजमस्ती छ र यसरी डुलेका छौ ।’ यस्तो कमेन्ट गर्ने मित्र भने दुई पाइलो उकालो चढ्न पनि थुरथुर कामिरहेको हुन्छ । दुई कोश पर जाँदा पनि केही बित्यास पर्ला कि भनी औधी तर्सिन्छ ।
सिस्ने, कहिले हिउँको च्यादर ओढेर त कहिले नाङ्गै ठडिएर रुकुमको पहिचान अहोरात्र कायम गरिरहेको छ । हामीले उसको सुन्दरताबाट लोभिन्छौँ तर उसले काटेको कहरतिर ध्यान दिँदैनौँ । ऊ आफै यात्रामा निस्कँदैन, तर हजारौँ यात्रीहरूको मनमस्तिष्कमा राज गरेर यात्रा गरिरहन्छ ।
फोटो र भिडियो हेरेर सोचेजस्तो सजिलो हुँदैन यात्रा । घर छोडेर निर्जन भेकमा पुग्दा अनेकौँ चुनौती र जोखिमहरू खडा हुन्छन् । तिनीहरूलाई पार गर्दै जानु ओछ्यानमा बसेर भिडियो हेरेजस्तो सजिलो हुँदैन, आँट चाहिन्छ, कालको मुखबाट पसेर पिठबाट निस्कने हिम्मत चाहिन्छ । यात्रामा निस्कँदा घरको समय र कामको चौपट हुन्छ, बाटोमा चोटपटक लाग्छ, भोकप्यासले मार्छ, यात्राका पाइलापाइलामा अनेकौँ खतराहरूको सामना गर्नुपर्दछ ।
अहिलेको जमानाको अमेरिका सबैको घ्यूसँग मुछेर कुप्लुक्क निल्नमिल्ने मनको सुस्वादु लड्डु बनेको छ । तर कोलम्बसले अमेरिका पत्ता लगाउँदा कस्तो अवस्थामा थियो ? कोलम्बसले ज्यानको बाजी थापेर कसरी समुन्द्री यात्रामा होमिएका थिए ? भन्ने कुरा लड्डु निल्नेहरूलाई सुइँपत्तो नै हुँदैन ।
सिर्जना बहिनी पनि कर्णालीकी कोलम्बसबराबर हुन् । उनले उजागर गरेका कुनाकन्दराका प्राकृतिक धरोहरहरूको महत्त्व केही सतहमा आउँदै छन् भने केही भविष्यमा आउने नै छन् । तर ती स्थलहरूको महत्त्व बढ्दा बहिनी सिर्जनाको महत्त्व घट्दै जानेछ र उनलाई भविष्यका लाभग्राहीहरूले चटक्कै बिर्सिसक्नेछन् ।
सिर्जनालाई सम्झनको लागि गरिएका यी दुई शब्दको खर्च कसैलाई बढाइचढाइ पनि लाग्नसक्छ वा उनी ओली भएको कारणले वा कुनै वर्ग विशेषले नजिक परेको कारणले प्रशंशा गरियो होला भन्ने लाग्न सक्तछ । हामी कति कुत्सित विचारका छौँ भने गत वर्ष चित्रिपाटनको यात्रा सकेर म फर्किएपछि रुकुमकै केही मित्रहरूले भनेका थिएः ओलीको थान त यहीँ वरिपरि नै प्रशस्त थिए नि तिमी भने बित्थैमा चित्रिपाटन पो पुगेर आएछौ । हामी अन्य जातिका मान्छेलाई चित्रीपाटनको ओलीको थानको के काम भयो र ?
यस विषयमा मेरो प्रश्नात्मक जवाफ छ । पशुपति ककसलाई काम लागेको छ ? सगरमाथा ककसलाई काम लागेको छ ? कोशी नदीका मुहानहरू ककसलाई काम लागेका छन् ?
हामीले आफ्नो आस्थाको अमुक दलको केन्द्रीय नेता जिल्लामा आउँदा १०० किलोको मालाले सम्मान गर्छौँ । उसको लागि घरको काम र मामलगायत सबथोक छोडिदिन सक्छौँ । उसलाई काँधमा बोक्न पाए स्वर्गको बाटो खुल्दो हो जसरी उसको नजिक पर्न मरिहत्ते गर्दछौँ । तर त्यही नेता वा त्यही कार्यकर्ताको नसामा सिर्जनाको पसिना पनि परेको छ भन्ने कुरा हामीलाई पटक्कै थाहा हुँदैन । हामी उनलाई २५ रुपैँयाको एउटा खादाले सम्मान गर्न पनि लोभ गर्छौँ । सित्तैमा प्रदान गर्न सकिने शब्दगुच्छाले उनको योगदानको कदर गर्न पनि कन्जुस्याँइ गर्छौँ ।
सिर्जना ! सिर्जना !! सिर्जना !!! कति कराइरहेको होला ? भन्ने लागिसक्यो होला तपाईँलाई । स्वाभाविकै पनि हो हाम्रोलागि को हो र सिर्जना ? गोरु बेचेको साइनोसमेत नपर्ने एउटी काम नपाएकी ‘स्वान्चरी’ त होली । उनको कामलाई बुझ्नुपहिले उनको सङ्क्षिप्त परिचयतिर लागौँ ।
रुकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका–११ अर्माकी बासिन्दा सिर्जना ओली पछिल्लो समयमा सोलो ट्रेकरको नामले विश्वभर प्रसिद्ध छिन् । उनले वन विज्ञानमा स्नातक सकेपछि आफ्नो समय र ऊर्जा यात्रामै नै लगाएकी छिन् । नेपाल र विदेशका गरी १५० भन्दा बढी प्राकृतिक स्थलहरूको भ्रमण गरिसकेकी सिर्जना अब विश्वकै चर्चित पर्यापर्यटनको भ्लगर बन्दै छिन् । उनको फेसबुक पेजमा ३० हजारभन्दा बढी फ्लोवर्स छन् । उनको युट्युबमा १ लाख ३३ हजारभन्दा बढी सब्स्क्राइबरहरू छन् र उनले युट्युबमा रोमाञ्चक एवम् सनसनीपूर्ण यात्रासम्बन्धी २१० वटाभन्दा बढी भिडियोहरू अपलोड गरेकी छिन् ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट उनी सम्मानित भएकी थिइन् । २०८० मा नेपालका ५० जना उत्कृष्ट महिलाहरूमध्ये पर्न पनि सफल भएकी छन् र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सम्मान/पुरस्कार पनि प्रदान नगरेका होइनन् । तर उनी जुन भूमिमा जन्मिइन् र जसको लागि भनेर कठिनतम् यात्रामा निस्किन्छिन् त्यो भूमिले उनलाई अद्यापि न्याय गर्न सकेको छैन । उनी आफ्नो भूमिकाको तुलनामा उपेक्षित छिन् ।
उनले खास गरी कर्णाली प्रदेशका पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्न लागिपरेकी छिन् । व्यावसायिक पर्यटनद्वारा कर्णालीलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा उनी केन्द्रित छिन् । पर्यटकीय हिसाबले रारा र फोक्सुन्डोले मात्र चिनिने कर्णालीका कुनाकन्दराहरूमा एक्लै पुगेर गुगलमा पनि नभेटिने र सामाजिक सञ्जालमा नदेखिने थुप्रै नयाँ गन्तव्यहरूको एक्सप्लोर गरेर जनसमक्ष ल्याइरहेकी छिन् ।
सिर्जनाले रुकुमका पनि दुर्गम भेकको स्थानीय संस्कृति, रहनसहन, परम्परा, भाषा, र जीवनशैली नजिकबाट अध्ययन गरी विभिन्न समुदायका मानिसहरूसँग अन्तरक्रिया गरेर सांस्कृतिक आदान-प्रदानमा योगदान पुर्याएकी छिन् । यस भेगका लोकसंस्कृति, गीत, नृत्य, भेषभूषा र खानपानलाई विभिन्न भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी छिन् । दुर्गम गाउँहरूमा पुगेर स्थानीय जीवनशैलीमा आएको परिवर्तनलाई औँल्याएर नीति निर्माताहरुलाई मद्दत गरेकी छिन् । उनको एकल यात्राले लैङ्गिक समानता र महिला सशक्तीकरणको उदाहरण प्रस्तुत गरेको छ । यात्राको क्रममा आफूले देखेका समस्याहरू सामाजिक सञ्जाल वा ब्लग मार्फत उठान गरेर समाजमा सचेतना फैलाएकी छिन् । स्थानीय होटेल, होमस्टे, गाइड, र यातायातको प्रयोग र सिफारिसद्वारा स्थानीय अर्थतन्त्रलाई सबल तुल्याउन अहम् भूमिका खेलेकी छिन् । स्थानीय राजस्वमा उनको पनि पसिनाको अंश छ ।
उनले लाखौँ युवाहरूलाई संस्कृति, पर्यटन र समाज विकासमा उत्प्रेरित गरिरहेकी छिन् जुन कर्णाली प्रदेशमा हालसम्म सरकारी तवरबाट खर्चिएको अर्बौ रकमभन्दा पनि बढी हो ।
रुकुमकै पनि सार्वजनिक जानकारीमा नरहेका गुप्ता, सुनदह, सिस्ने र थुप्रै लेकाली रुटहरूको बारेमा आफै पुगेर जानकारी दिएपश्चात् त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढाइदिएकी छिन् । उनले हरेक हप्ता राखेको एउटा भिडियोलाई नेपाल र विदेशका १ लाख ३३ हजार दर्शकहरूले एकैचोटि हेर्छन् । यति ठुलो स्तरको प्रचारको काम उनले निशुल्क गरिरहेकी छिन् । जबकि १० जनालाई सुसूचित गर्नको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले लाखौँ खर्च गरेका हुन्छन् ।
यो प्रचारबाट प्रत्यक्ष वा परोक्ष रूपमा देशको पर्यटन उद्योगमा योगदान भइरहेको छ र उनको यही योगदानको अंशबाट सम्मान थाप्ने राजनीतिक प्रशासनिक वा अन्य क्षेत्रका नेताहरूले तलब, भत्ता तथा विभिन्न सुविधाहरू प्राप्त गर्ने बाटो खुलेको छ ।
अब भन्नुहोस् गलामा माला थाप्ने मुख्य हकदार सिर्जना सिज्जू हुन् कि होइनन् ? उनको यो अटुट यात्रा उनको मोजमस्ती मात्र हो कि देशकै लागि अमूल्य योगदान हो ?
उनलाई फूलको माला पहिर्याउन नसके पनि आउनुहोस् उनको जन्मदिनको अवसर पारेर जन्मदिनको भव्य शुभकामना भन्दै शब्दमाला पहिर्याउन कन्जुस्याँइ नगरौँ ।
तिम्रो योगदानले कर्णाली पर्यटन क्षेत्रको अग्रङ्तिमा उभियोस् जन्मदिनको मस्तै मस्तै शुभकामना छ सिर्जना बहिनी !!!
लेखक पूर्ण ओली रुकुमेली वाङमय अधिष्ठानका सचिव तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का केन्द्रीय सदस्य हुनुहुन्छ ।