रुकुम पश्चिम -१४, जेठ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अग्लो शिर मौराखारा लेकमा ऐतिहासिक मौराखारा मेला लाग्ने भएको छ । जेठ पूर्णिमाको अवसरमा यही १७ गते प्रसिद्ध मौराखारामा मेलाको आयोजना गरिएको छ ।
मौराखारा मेला व्यवस्थापन समितिको आयोजनामा मेलालाई थप भव्य बनाउन विविध खेलकुद प्रतियोगिता सहित मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । समितिले मौराखारा मेलामा छेलो प्रतियोगिता, स्थानीय कला संस्कृति तथा झाँकी प्रदर्शन, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन र मनोरञ्जनात्मक लोक सांस्कृतिक कार्यक्रम राखिएको बताएको छ ।
छेलो प्रतियोगितातर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ६ हजार र सान्त्वना हुनेलाई ४ हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ । त्यस्तै मेलामा प्रस्तुत गरिने झाँकीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण र मनोरम वातावरणमा आयोजना गरिएको मेलालाई थप ऐतिहासिक बनाउन आयोजक समितिले उपस्थितिको लागि सबैलाई अनुरोध गरेको छ ।