रुकुम पश्चिम -१७, जेठ ।
सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोटमा नेपालले चीनलाई दुईसय २१ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई १९ ओभर २ बलमा अल आउट गर्दै फराकिलो रन अन्तरले हराएको हो ।
नेपालका लागि कुशल भुर्तेलले एकसय २९ रनको शतकीय पारी खेले । त्यस्तै रोहित पौडेल र कुशल मल्लले पनि अर्धशतक पूरा गरे ।
नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा चीनलाई ३ सय १४ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङमा चीनले ९२ रन मात्रै बनाउन सक्यो ।
जारी छनोट खेलबाट सेमिफाइनलमा पुग्ने चार राष्ट्र २० औं एसियाली खेलकुदमा छनोट हुनेछन् । नेपालले गत संस्करणको एसियाली खेलकुद खेलेको थियो ।
छनोटमा कुल ८ राष्ट्रको सहभागीता रहेको छ । ग्रुप ‘ए” मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् ।
ग्रुप ‘बी” मा बहराइन, हङकङ, ओमान र सिंगापुर छन् ।