रुकुम पश्चिम -१५, जेठ ।
रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा आजदेखि प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु भएको छ । खलंगा बहुमुखी क्याम्पसको आयोजनामा दुईदिने बहुविषयक राष्ट्रिय सम्मेलन सुरु भएको हो ।
कर्णालीमा समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन: उच्च शैक्षिक संस्थाहरूको भूमिकालाई मूल विषय बनाएर राष्ट्रिय सम्मेलन सुरु गरिएको क्याम्पस प्रमुख डम्बर खड्काले बताए । दुई दिने सम्मेलनमा एकसय १० जना शैक्षिक क्षेत्रका अनुसन्धानकर्ता एवं प्राज्ञिक व्यक्तित्वहरूले शैक्षिक क्षेत्रमा गरिएका अनुसन्धानमूलक गतिविधि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
जसमध्ये ३० जनाले भौतिक उपस्थिति र ८० जनाले भर्चुअल मार्फत अनुसन्धानमूलक प्रस्तुति प्रस्तुतिकरण गर्ने बताइएको छ । सम्मेलनमा अनुसन्धानकर्ताले मुख्यतः तीनवटा विधामा रहेर अनुसन्धान प्रस्तुत गर्ने क्याम्पस प्रमुख खड्काले जानकारी दिए ।
दुई दिन सम्म चल्ने सम्मेलनमा शिक्षा क्षेत्रका अनुसन्धानकर्ताले शैक्षिक क्षेत्रमा गरेका खोजमूलक प्रस्तुतिलाई शैक्षिक अनुभवका रुपामा आदानप्रदान गर्ने छन् ।
यस राष्ट्रिय सम्मेलनमा सहआयोजकको रूपमा मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, न्यू मुनलाइट बोर्डिङ स्कुल र विजयश्वरी बोर्डिङ स्कुल रहेका छन् । सम्मेलनको आज पहिलो दिन उद्घाटन सत्रमा विभिन्न सांगीतिक प्रस्तुति, रचनावाचन र मन्तव्यको कार्यक्रम रहेको छ ।