रुकुम पश्चिम -१३, असार ।
रुकुम पश्चिमको मुसिकोटमा आज स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चारकर्मीका लागि एकदिने अभिमुखीकरण सम्पन्न गरिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वास्थ्य सेवा प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने भएकाले स्वास्थ्य र सञ्चारको विषयमा अभिमुखीकरण गरिएको शाखा अधिकृत तथा कार्यक्रमका अध्यक्ष लक्ष्मीप्रसाद लामिछानेले बताए । सञ्चार तथा पैरवी कार्यक्रममा सञ्चारकर्मीलाई स्वास्थ्य क्षेत्रका प्राथमिकता, तथ्यमा आधारित स्वास्थ्य समाचार प्रवाह र स्वास्थ्य कार्यक्रम प्रति जनचेतना बढाउने विषयमा प्रष्ट पारिएको थियो ।
स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य सेवाको सुधार, पहुँच विस्तार, स्वास्थ्य व्यवहार परिवर्तन, सचेतना, प्रचारप्रसार र निगरानीमा स्वास्थ्यकर्मीको भन्दा सञ्चारकर्मीको बढी भूमिका हुने भएकाले यो कार्यक्रममा आयोजना गरिएको बताइएको छ ।
अभिमुखीकरणमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनी व्यवस्थाका विषयमा पनि प्रस्तुतिकरण राखिएको थियो । त्यस्तै जन स्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दीर्घ तथा कडा रोगका बिरामीलाई उपचार सहायताको प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।