चिना बराल २८, मङ्सिर ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पार्टी एकता सन्देश सभाबाट नेपाली कम्युनिस्ट आन्दोलनले फेरि एकपटक एकताको महत्व र अपरिहार्यतालाई जोडदार रूपमा उजागर गरेको छ । शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट एकतालाई केवल राजनीतिक समीकरण मात्र नभई जनताको चाहना, संविधानको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेका छन् ।
सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासमा क्षेत्रीय असन्तुलन अन्त्य जनताका मुख्य सरोकार हुन् । कर्णाली जस्तो पिछडिएको क्षेत्रलाई विकासको प्राथमिकतामा राख्ने प्रतिबद्धता स्वागतयोग्य भए पनि यसलाई नीतिगत निर्णय, बजेट र कार्यान्वयनमा उतार्नु नै चुनौतीपूर्ण पक्ष हो ।
नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता र समावेशी लोकतन्त्रको जग बसाल्न कम्युनिस्ट शक्तिको योगदान निर्णायक रह्यो । तर विडम्बना के छ भने, विगतमा कम्युनिस्ट आन्दोलन आन्तरिक विभाजन, शक्ति संघर्ष र नेतृत्व बीचको अविश्वासका कारण अपेक्षित दिशामा अघि बढ्न सकेन । यही कारण जनतामा निराशा पन पैदा भएको यथार्थ हो ।
यसपटकको कम्युनिस्ट एकता विगतका गल्तीको आत्मसमिक्षा सहित अघि बढाइएको दाबी गरिएको छ । दाहालले एकता जनताको आवश्यकताबाट प्रेरित भएको र दीर्घकालीन हुने विश्वास व्यक्त गर्नु र नेपालले संविधान, गणतन्त्र तथा लोकतन्त्र रक्षाका लागि एकता अपरिहार्य रहेको बताउनु राजनीतिक रूपमा अर्थपूर्ण सन्देश हो । तर एकताको वास्तविक मूल्य भाषणभन्दा व्यवहारबाट मापन हुने यथार्थलाई नेतृत्वले बिर्सनु हुँदैन ।
सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासमा क्षेत्रीय असन्तुलन अन्त्य जनताका मुख्य सरोकार हुन् । कर्णाली जस्तो पिछडिएको क्षेत्रलाई विकासको प्राथमिकतामा राख्ने प्रतिबद्धता स्वागतयोग्य भए पनि यसलाई नीतिगत निर्णय, बजेट र कार्यान्वयनमा उतार्नु नै चुनौतीपूर्ण पक्ष हो । विदेशिएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने घोषणालाई पनि ठोस योजना र परिणामले पुष्टि गर्नुपर्ने आवश्यकता छ ।
युवापुस्ताको आकर्षण बढ्दै गएको दाबी आफैंमा सकारात्मक संकेत हो । तर जेन-जी पुस्ता नाराभन्दा परिणाम खोज्ने पुस्ता हो । पारदर्शिता, जवाफदेहिता र कार्यसम्पादन देखाउन नसकिए एकता आफैं कमजोर बन्न सक्छ । त्यसैले कम्युनिस्ट एकताको सफलता संगठनात्मक एकता मात्र होइन, जनजीविकासँग प्रत्यक्ष जोडिने काममा निर्भर रहनेछ ।
अन्ततः, कम्युनिस्ट एकता आजको राजनीतिक आवश्यकता अवश्य हो । तर यो आवश्यकता दिगो तब मात्र हुन्छ, जब एकता सत्ता प्राप्तिको साधन नभई संविधानको रक्षा, जनताको सेवा र समृद्ध नेपाल निर्माणको माध्यम बन्न सक्छ । इतिहासले नेतृत्वलाई दिएको यो अवसर गम्भीर आत्मसंयम, जिम्मेवारी र परिणाममुखी कार्यशैलीबाट मात्र सार्थक हुनेछ ।