भरत चन्द
रुकुम पश्चिम -२२, बैशाख ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको सिमानामा अग्लो पहाडको शिखरमा एउटा स्वर्गजस्तै सुन्दर ताल लुकेको छ – तिलाचन ताल । समुद्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा अवस्थित यो तालले प्रकृतिको अनुपम सौन्दर्यलाई आत्मसात गरेको छ । चिसो मौसम, सिरसिर बतास, हरियाली र हिमशृङ्खलाको मनमोहक दृश्यले यहाँ आउने पर्यटकलाई मोहित पार्छ ।
केही वर्षअघि सम्म ओझेलमा रहेको ताल बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाउँदै छ । बाहिरी दुनियाँको नजरबाट टाढा रहेको यो तालले पाथीहाल्नेसम्म बिस्तार भएको मध्यपहाडी लोकमार्गपछि पर्यटन प्रबर्द्धनको हिसाबले नयाँ सम्भावनाको ढोका खोलेको छ । अहिले सवारीसाधन पाथिहाल्ने पुग्ने भएकाले त्यहाँबाट करिब आधा घण्टा पैदलयात्रा गरेपछि सहजै तालसम्म पुग्न सकिन्छ ।
तालको छेउमा हालै पक्की संरचनामा मन्दिर निर्माण गरिएको छ । स्थानीयको विश्वास अनुसार यहाँ पहिलेदेखि ढुंगामा पूजा गर्ने परम्परा थियो । त्यसैको निरन्तरता स्वरूप मन्दिर बनाइएको हो । यहाँ पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । विशेषगरी चाडपर्व र धार्मिक अवसरमा स्थानीयको घुइँचो लाग्ने गरेको छ ।
हिउँदमा यहाँ पर्यटकको उपस्थिति कम देखिन्छ । तर बर्खाको मौसममा ताल आकाशे पानीले भरिन्छ र चारैतिर हरियालीले ढाकिन्छ । यही सुन्दरता हेर्न धेरै पर्यटक बर्खामै यहाँ पुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिनहरूमा पर्यटकको भीड झन् बढ्ने गर्छ । त्यस्तै फागुन, चैत र बैशाख महिनामा ताल अवलोकन गर्न जाँदा बाटो छेउछाउमा फुल्ने लालिगुराँस र अन्य वनफूलहरूको सुगन्धले तालसम्म पुगेको थाहै हुँदैन ।
भोक र प्यास मेटाउन ताल पुग्ने पर्यटकले पाथिहाल्नेमा रहेका रेस्टुरेन्टहरूबाट सेवा लिने गर्छन् । सुविधाका हिसाबले अझ धेरै गर्नुपर्ने देखिए पनि पछिल्लो समय विभिन्न सरकारी तथा स्थानीय प्रयासले केही विकासका कामहरू अघि बढेका छन् ।
नेपाल सरकारले ताल संरक्षण र पर्यटन प्रवर्द्धनका लागि आर्थिक बर्ष ७८/७९ मा लुम्बिनी प्रदेश सरकारमार्फत १० लाख रुपैयाँ विनियोजन गरी ताल वरपर सरसफाइ र मन्दिर निर्माण गराएको छ । त्यसपछि ८०/८१ मा पर्यटन ग्रामिण तथा सहकारी मन्त्रालय, पर्यटन डिभिजन कार्यालय बाँकेबाट २० लाख रुपैयाँको लगानीमा तालको घेराबार र ताल नजिकै एउटा कटेज (सानो घर) निर्माण गरिएको छ ।
घेरबार पछि तालमा हुने जथाभावी फोहोर गर्ने प्रचलन रोकिएको छ । तालभन्दा अलि पर निर्माण भएको कटेजले पर्यटकलाई असिना, वर्षा वा हिमपातजस्ता अप्रत्याशित मौसममा सुरक्षित बस्नको लागि सहज बनाएको छ ।
तिलाचन तालबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमशृङ्खला नजिकैबाट देख्न सकिन्छ । त्यस्तै बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्युठान र गुल्मी जिल्लाका केही भूभागहरू पनि सजिलै देख्न सकिन्छ । तर, यहाँ प्रायः बादलले ढाक्ने भएकाले असोजदेखि जेठ महिनाको बीचको समय यो स्थान घुम्न उपयुक्त मानिन्छ।
तिलाचन ताल एकान्तताको खोजी गर्नेहरू, प्राकृतिक प्रेमी र हिमाल अवलोकन गर्न चाहनेहरूका लागि उत्तम गन्तव्य बनेको छ । यद्यपि, यहाँ पुग्ने पदमार्ग अझै अव्यवस्थित भएकाले आगामी दिनमा त्यसको सुधार आवश्यक देखिन्छ । सडक विस्तारपछि यहाँ पर्यटन प्रवर्द्धनको थप सम्भावना देखिएको छ ।
स्थानीय बासिन्दा पर्यटन विकाससँगै आफ्नो संस्कृति र वातावरण जोगाउन उत्साहित देखिन्छन् । उनीहरू भन्छन्, “हामीले आफ्नो परम्परा, संस्कार र प्राकृतिक सम्पदालाई जोगाउँदै पर्यटनलाई अघि बढाउनुपर्छ । विकाससँगै हाम्रो पहिचान नहराओस् भन्ने चाहना छ ।”
यसरी पर्यटन प्रवर्द्धन र संरक्षणको सन्तुलन कायम गर्दै अघि बढेमा तिलाचन ताल बिस्तारै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना छ ।
यदि तपाईं शान्ति, प्राकृतिक सौन्दर्य, हिमालको अवलोकन र सांस्कृतिक अनुभूतिमा हराउन चाहनुहुन्छ भने तिलाचन तालको यात्रा अवश्य गर्नुहोस् । यो यात्रा केवल गन्तव्यसम्म सीमित छैन, यो आत्मा र प्रकृतिको साक्षात्कार पनि हो ।