रुकुम पश्चिम -४, फागुन ।
पछिल्लो समयमा मेरो अन्य साङ्गठनिक जिम्मेवारीको कारण रुकुमको साहित्यिक गतिविधिमा सोचेजस्तो समय मिलाउन असमर्थ भइरहेको छु । तै पनि रुकुम बसाइँ भएको सन्दर्भमा मौका परेसम्म यहाँको साहित्यिक गतिविधिमा तनमनले आफुलाई सरिक बनाउने प्रयत्न भने गर्दै आएको छु ।
यसै सन्दर्भमा २०८१ फाल्गुन २ गतेका दिन मुसिकोट नगरपालिकाको वडानम्बर -१० मा पर्ने मालिका माध्यमिक विद्यालय चुनमा सोही वडा अन्तरगत रहेका विद्यालयका विद्यार्थीहरुलाई सहभागी बनाएर कविता प्रतियोगिता हुन थालको थियो । रुकुम साहित्यमाला कार्यक्रमको एकसय पच्चिसौं श्रृङ्खला अन्तर्गत हुन थालेको यो कार्यक्रमको आर्थिक सहयोग एवम् व्यावस्थापन १० नम्बर वडा कार्यलय रहेको थियो भने यसको आयोजना राप्ती साहित्य परिषद् जिल्ला शाखाले गरेको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली सरले फोन मार्फत चुन जानको लागि प्रस्थान विन्दु र समयको जानकारी गराए पछि म ठिक १० बजे घरबाट निस्केर बाटो लागें ।
घरबाट निस्केर केही पाइला पर पुग्दै गर्दा बाटोमा एकजना परिचित मान्छेसँग मेरो जम्का भेट भयो । “कताको साईत हो ?” उहाँले भन्नुभयो । दशनम्बर वडा कार्यालमा आज साहित्यिक कार्यक्रम छ । त्यतै जान थालेको छु ।” मैले कुरा नलुकाई उहाँलाई म जान थालेको कामको बारेमा जानकारी गराएँ । “जे होस साहित्यमा खटेरै लाग्नुभएको छ हजुर त । मैले थाहा पाएदेखि नै साहित्यमा लाग्नुभएको छ । साहित्यमा हिंड्दा अरु के हुन्छ ?” उहाँले प्रश्न सोध्दै भन्नुभयो । उहाँको साहित्यमा हिड्दा अरु के हुन्छ ? भन्ने प्रश्नभित्र आर्थिक लाभबारेकोे जिज्ञासा अन्तरनिहित थियो । अर्थात साहित्यमा लागेर कति कमाई हुन्छ ? सुबिधा के के हुन्छ ? जस्ता मनोभावमा उहाँले मलाई प्रश्न गर्नुभएको थियो । अक्सर आम सर्वसाधारणले राजनीति र साहित्यको क्षेत्रमा काम गर्ने कुरा विशुद्ध सामाजिक सेवाको काम हो भन्ने कुरा बुझ्दैनन् ।
लुटीखानेहरूद्वारा समाजमा गरिने कुनै पनि काम कमाउनको लागि हो भन्ने भाष्य स्थापित गरिएकाले आम मानिसहरूले हाम्रो कामको बारेमा पनि सोच्ने कुरा यही हो । “हैन त्यस्तो केही हुँदैन । विशुद्ध सामाजिक जागरणको काममा हामी हिडिरहेका हुन्छौं ।” उहाँलाई मैले नढाँटेरै खास कुरा बताए । तर उहाँले मेरो कुरा पत्याउनु भएन । उहाँ फिस्स हाँस्दै मबाट छुट्टिनु भयो । म पनि उहाँबाट छुट्टिएर अगाडि बढेँ । मनमनै सोंचे, कमाई गर्न र सुविधाको खोजीमा लागेको भए म अहिले कुन ठाउँमा हुन्थेहुँला ? कमाइ गर्ने सुविधाको खोजीमा लागेका मसँगैका केही थान साथीहरुको सूचि मेरो मस्तिष्प्रमा प्रतिबिम्बित भयो । एकजना ब्रिटिश आर्मी भएर पेन्सन खाइरहेको साथी, एकजना शिक्षक बनेको साथी, एकजना कर्मचारी बनेको साथी, एकजना प्रदेश सांसद हुँदै मन्त्री बनेको साथी, एकजना कर्मचारी क्षेत्रमा हाकिम बनेका साथी, एकजना अमेरीका गएर कमाइरहेका साथी, एकजना गाउँपालिकाको अध्यक्ष भएर काम गरिरहेका साथी………। सोचें, “सायद म पनि यतिबेला यि साथिहरू भएको ठाउँसम्म त पुगेको हुन्थेंहुँला । कम्तीमा एउटा व्यक्तिगत कार किन्थेँ हुँला । त्यति नभए पनि एउटा सस्तोे खालको बाइकसम्म त चलाउँथे हुँला । केही मात्रामा भएपनि मेरो बैंक व्यालेन्स हुन्थ्यो होला । अघि पछि एकदुइजना मसलवाला केटाहरू लिएर घुम्थे हुँला । सायद यसरी एक्लै लखुरलुखुर हिड्न मलाई ठूलो लाज हुन्थ्यो होला । म पुग्ने ठाउँ यस्तैयस्तै हुन्थ्यो होला !
एकै क्षणपछि म चुन जाने प्रस्थानबिन्दुमा पुगेँ । त्यहाँ पुगेर केहीबेर पर्खिए पछि सर्बप्रथम साहित्यकार मुकुन्दप्रसाद शर्मा आइपुग्नुभयो । यसपछि क्रमशः साहित्यकार मनलाल ओली, साहित्यकार एक्कबहादुर केसी, साहित्यकार हरिपवन पहर खड्का र साहित्यकार पुर्ण ओली सर त्यहाँ आइपुग्नुभयो । खलङ्गादेखि चुनसम्म जान हाम्रो लागि तीन सिटे अटो गाडि रिजर्ब गरिएको रहेछ । तीन सिटे अटो गाडिमा हामी ६ जना गुन्द्रुक खादिए झैं खादियौं । खासमा आज बिहानदेखि एक्कासी मेरो घुँडा दुखाइको समस्या बल्झिएको थियो । त्यसैले म अलि अस्वस्थ थिए । अस्वस्थ अवस्थामा अटोमा यसरी कोच्चिएर बस्नुपर्दा म आफुलाई निकै नै असहज महशुस भइरहेको थियो ।
तथापि हाम्रो लागि यसरी गाडि चढेर साहित्यिक कार्यक्रममा जान पाउनु निकै ठुलो कुरा थियो । यसरी साहित्यिक कार्यक्रममा जाने मध्य अर्का एकजना साहित्यकार खगेश्वर भण्डारी सर पनि हुनुहुन्थ्यो । अटोमा सिट अभावले गर्दा उहाँलाई वडा अध्यक्षज्यूले बाइकमा राखेर कार्यक्रम स्थल चुन पुर्याउनुभयो ।
चुन पुगे पछि वडा अध्यक्षज्यूले हामी सबै स्रष्टाहरूलाई वडा कार्यालयमा बोलाएर खादा र अबिरले सम्मान गर्नुभयो । कतिपय स्थानीय सरकारले कवि, कलाकार र साहित्यिकारहरूलाई देख्ने बित्तिकै नाकमुख खुम्चाउने, असहयोग गर्ने गरेको तितो यथार्थ हामीले भोग्दै आएको सन्दर्भमा १० नम्बर वडाले कवि, कलाकार र साहित्यिकारहरुप्रति देखाएको सम्मान भावले हामीलाई प्रफुल्लित तुल्यायो । यसरी कवि, कलाकार र साहित्यकारका महत्व बुझ्ने स्थानीय सरकारहरू मध्य १० नम्बर वडा पनि एक रहेछ । विकास भनेको बाटो बनाउनु, भवन बनाउनु, पुल बनाउनु, विजुली बत्ति बाल्नु, कुनै आयोजनाको शिलान्यास वा उद्घाटन गर्नु आदी मात्र होइन ।
योसँगै कला, साहित्य र संस्कृतिलाई समृद्ध गर्दै लैजानु पनि विकास हो । यो कुरा हरेक तहका सरकारले बुझ्नु जरुरी छ । कला, साहित्यको माध्यमबाट हामीले समाजमा जति स्वस्थ र उच्च चेतना निर्माण गर्न सक्छौं त्यति नै स्तरिय रुपमा समाजको विकास अगाडि बढ्न सक्छ ।
केही बेर हामीहरू वडा अध्यक्षज्यूको कार्यकक्षामा भुल्यौं । उहाँले आफ्नो कार्यकक्षालाई निकै सुन्दर तरिकाले सजाउनु भएको रहेछ । भित्तामा प्रदर्शन गरिएका रङ्गी विरङ्गी तस्बिरहरूले वडाका समग्र विकास गितिविधिहरूलाई उजागर गरिरहेको देखिन्थ्यो । देशका ठुला व्यक्तित्वहरू, सामाजिक परिवर्तनका लागि जिउज्यान अर्पेका सहिदहरुको फोटाहरूले सजिएको उक्त कार्यकक्षले सानोतिनो संग्राहलयको झल्को दिइरहेको थियो । वडा कार्यालयको अवलोकन पश्चात हामीहरू साहित्यिक कार्यक्रम हुने स्थानतर्फ प्रस्थान गर्यौ ।
कार्यक्रम हुने स्थान धेरै टाढा थिएन । करिब दश मिनेट उकालो उक्लेपछि मालिका चुन भेटियो । यसै विद्यालयको प्राङ्गणमा साहित्यिक कार्यक्रमको तयारी भइरहेको थियो । हामी सबै मञ्चमा गएर बस्यौं । कार्यक्रमको तयारी भइरहेको हुँदा वडा अध्यक्षज्यूले हामीलाई त्यो वडाको वस्तु स्थितिबारे केही कुरा जानकारी गराउनु भयो ।
उहाँले गराउनु भएको जानकारी अनुसार वडामा शिक्षा क्षेत्रको विकासको लागि नेपाली, अंग्रेजी, र विज्ञान विषयका मा.वि. तह र त्यो भन्दा माथिका विज्ञ व्यक्तित्वहरुको शैक्षिक सुधार कार्यदल बनाइएको रहेछ । यसले प्रत्यक बर्ष विद्यार्थीहरुको सिकाई उपलब्धी मापन गर्दाेरहेछ । यो कार्यदलले आफै प्रश्न पत्रहरु बनाएर विद्यार्थीहरुको परीक्षा गर्ने, तालिमहरू सञ्चालन गर्ने, बेलाबेलामा साहित्यिक कार्यक्रमहरु बनाउने आदि गतिविधि गर्दाेरहेछ । यो कार्य खासमा शिक्षाको गुणस्तर बृद्धि गर्ने उदेश्यका साथ गरिएको रहेछ । यसरी वडाको तर्फबाट विस्तारै शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयत्न भइरहेको रहेछ ।
दोस्रो कुरा वडामा उत्पादनको क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धीको सुरुवात हुन थालेको रहेछ । २०७४/७५ सालतिर डोकोमा बोकेर बेच्ने गरिएको लसुन आजभोली ट्रकमा लोड गरेर बेच्ने गरिँदो रहेछ । त्यतिबेला गाउँमा दशबीस क्वीन्टल जति लसुन उत्पादन हुँदेरहेछ । तर आजभोली गाउँमा क्वीन्टलका क्वीन्टल लसुन उत्पादन हुँदो रहेछ । यसबर्ष मात्रै गाउँबाट १३ ट्रक लसुन निर्यात गरिएको रहेछ । यो हिसाबले १३ बटा ट्रकले बोक्ने लसुन करिब एकहजार चार सय तीस क्विन्टल हुँदोरहेछ । यसरी लसुनबाट मात्रै वडामा करिब दुइकरोड आर्थिक (रूपैयाँ) भित्रिदो रहेछ ।
यसको मात्रा अझै बढाउँदै लैजाने वडाले लक्ष्य राखेको रहेछ । यसैगरी वडाबाट अदुवा, आलु, अलैँची, प्याज, बन्दागोवी, सुुुुन्तला, तरकारी, नगदेबाली तथा फलफूलहरू पनि उत्पादन गरि निर्यात गरिँदो रहेछ । यसै गरी कुखुरा, खसी, भैंसी, अन्य तरकारी, मह घ्यु आदी कुनै न कुनै चिज उत्पादन गर्ने र प्रति घरधुरी वार्षिक ३ देखि ५ लाख आयआर्जन गर्नै पर्ने गरि वडावासीलाई प्रोत्साहन गरिरहेको र यसको परिणाम स्वरुप करिब पचास प्रतिशत घरधुरीले सोहि अनुरुप आम्दानी पनि गरिरहेका रहेछन् । यसलाई थप प्रोत्साहन गर्दै जाने वडाको लक्ष्य रहेको पनि वडा अध्यक्षज्यूले हामीलाई बताउनु भयो ।
उत्पादनको कार्यसँगै वडाले लक्ष्य राखेको अर्काे विषय रहेछ सार्वजनिक स्थलहरुको विकास र संरक्षण । जसअनुसार हरेक टोलको केन्द्रमा एउटा सामुदायिक भवन अनिवार्य बनाउनु पर्ने, हरेक टोलमा एउटा सार्वजनिक खेल मैदान निर्माण गर्ने, यसैगरी ठाउँठाउँमा सानासाना चौताराहरु निर्माण गर्ने, वडाको बाटोहरुलाई पिसिसि गर्ने, सार्वजनिक स्थलहरुको संरक्षण गर्ने जस्ता नीति वडाले अगाडि सारेको र सोहि अनुरुप कामहरु पनि भइरहेका रहेछन् । यसैगरी यहाँका पर्यटकीय र रमाइला स्थलहरुको पहिचान गरि ती स्थानहरुमा महत्वपूर्ण व्यक्तित्वहरुका शालिकहरु र चित्रहरु निर्माण गर्ने सोंच रहेको कुरा पनि उहाँले बताउनुभयो । उहाँका थप कुरा नसकिदै कार्यक्रमको लागि साउण्ड सिस्टम बज्यो । यसपछि हाम्रो ध्यान साहित्यिक कार्यक्रम तर्फ मोडियो ।
औपचारिक रुपमा सुरु भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्षले गर्नुभयो । हामी जिल्लाबाट गएका साथीहरू मध्य साहित्यकार मुकुन्दप्रसाद शर्माज्युले प्रमुख अतिथिको कुर्सी सम्हाल्नुभयो । हामी सबै अतिथिको कुर्सीमा ठाँटिएर बस्यौं ।
कार्यक्रमको जिम्मेवारी बाँडफाँडको क्रममा साहित्यकार खगेश्वर भण्डारी सर, साहित्यकार पूर्ण ओली सर र मलाई कवितामा भाग लिएका भाइबहिनीहरुलाई फस्ट, सेकेन्ड, थर्ड बनाउने जिम्मेवारी आइ लाग्यो । अर्थात हामी तीन जना आजको लागि मुल्याङ्कनकर्ता बन्यौं ।
कविता प्रतियोगितामा वडामा रहेका आधारभूत तहका बाइस जना, कक्षा ६ देखि ८ का तेह्रजना र कक्षा नौ र दशका ८ जना गरी त्रिचालिस विद्यार्थीहरुले भाग लिएका थिए । यी विद्यार्थीहरुले क्रमशः मालिका मावि चुन, जनता आधारभूत विद्यालय गलमपाटी, शान्ति नमुना आधारभुत विद्यालय डेलडाँडाका सर तथा मेडमहरूले सहभागी गराउनु भएको थियो । ४३ जना विद्यार्थीका कविता सुनेपछि हामी ३ जना गोप्य मिटिङको लागि कार्यक्रम स्थलबाट बाहिरियौं । यसै बिचमा त्यहाँ अरु बौद्धिक ब्यक्तित्वहरू र सर्जक महानुभावहरुबाट रचना वाचनको कार्यक्रम भएछ । हामीले उहाँहरुका रचना सुन्न पाएनौं ।
स्रष्टाहरूको प्रतिभा मुल्याङ्कन गर्ने भनेको साह्रै जटिल विषय हो । हरेक स्रष्टाको सिर्जना उ स्वयमको ठाउँबाट हेर्दा सुन्दर र श्रेष्ठ हुन्छ । ४३ जना प्रतियोगी विद्यार्थी भाइबहिनीहरु सबैको प्रतिभा उनिहरूको स्तर र अवस्थाबाट उभिएर हेर्दा समान हिसाबमा राम्रा थिए । तैपनि हामीले केही मापदण्ड बनाएर कसै न कसैलाई प्रथम, द्धितिय र तृतिय बनाउनु थियो । यो मुल्याङ्कनकर्ताको लागि एउटा बाध्यता पनि हो । यसैले हाम्रो मापदण्डले दिएको परिणाम बोकेर हामी कार्यक्रमस्थलमा आइपुग्दा रचना वाचनको काम सकिसकेको थियो ।
हाम्रो मुल्याङ्कन समूहको तर्फबाट खगेश्वर भण्डारी सरले चट्ट मिलाएर प्रतियोगिताको परिणाम सुनाउनु भयो । साथै मिठो मन्तव्यको साथमा भगवान शिर्षकको एउटा शसक्त कविता पनि वाचन गर्नुभयो । अतिथिको आसनबाट हामी सबैले दुइचार शब्द बोलेर आआफ्नो पालो कटायौं । मैले पनि साना भाइबहिनीले बुझ्ने गरि उनिहरुको स्तरको सम्बोधनमा एउटा कविता सुनाउने प्रयत्न गरेँ । विजयी भाइबहिनीहरूलाई पुरस्कृत पश्चात कार्यक्रममा शहिद परिवारलाई सम्मान कार्यक्रम पनि जोडियो । साहित्यिक कार्यक्रममा यसरी सहिद परिवारलाइ सम्झने र सम्मान गर्ने कामसँगै प्रमुख अतिथिको आसनबाट श्री मुकुन्दप्रसाद शर्मा सरले सारगर्भित मन्तब्य राख्नुभयो । र अन्त्यमा महत्वपूर्ण विचारका साथ यस कार्यक्रमकका अध्यक्ष तथा दश नम्बर वडाका वडा अध्यक्ष धनबहादु खड्काज्यूले कार्यक्रम समापन गर्नुभयो ।
अन्त्यमा सामूहिक फोटो शेसन पश्चात विदाइको हात उठाउँदै हामी सबै कार्यक्रम स्थलबाट बाहिरियौं । नजिकै रहेको होमस्टेमा हाम्रो लागि स्थानीय र मौलिक खाना तयार भएको रहेछ । मुसिकोट खलङ्गाबाट गएका हामीहरू पाहुना बनेर त्यहाँ तयार पारिएको मकैको ढिंडो, अर्गानिक साग र आलुको तरकारी, भाङ्गो र टमटरबाट बनेको जिब्रो रसाउने मिठो चटनी र दही खाएर तृप्त भयौं ।
अलि तल हामीलाई बोकेर लैजानको लागि बिहानको तीनसिटे अटो हाम्रो प्रतिक्षामा बसिरहेको रहेछ । अटोमा सिट सिमित भएकाले साहित्यकार मुकुन्द सरले वडा अध्यक्षज्यूको मोटरसाइकल रोज्नुभयो । साहित्यकार पूर्ण ओली सर, साहित्यकार खगेश्वर भण्डारी सर, साहित्यकार एक्कबहादुर सर, साहित्यकार हरिपवन पहर खड्का सर, साहित्यकार मनलाल ओली सर र म त्यो अटोमा पुनः बिहानको जस्तै गुन्द्रुक खाँदिए झैं खादियौं । यो शरिरले पुनः बिहानकै नियति र असहजना दोहोर्याएर भोग्न थाल्यो । घुँडा कट्कटी दुख्न थाल्यो ।
चुनबाट खलङ्गासम्म आइपुग्न अटोलाई झण्डै एक घन्टा भन्दा बढि लाग्दो रहेछ । अटोमा सवार साहित्यकार साथीहरुले आजको कार्यक्रकमको बारेमा आआफ्नो कोणबाट चर्चापरिचर्चा गर्दैहुनुहुन्थ्यो । म भने प्रतिकुल स्वास्थ्यको कारण मौन रहेर फरक प्रसंग सोचिरहेको थिएँ ।
मुसिकोट नगरपालिका दश नम्बर वडाका वडा अध्यक्ष निकै जागरुप, साहसी र सिर्जनशील वडा अध्यक्ष हुन् । उनले हामीलाई बताए अनुसार आफुले ठूला र महत्वाकाँक्षी योजनाहरू सोच्नुभन्दा जनताका आधारभूत आवश्यकतालाई पहिचान गरी जनताले नै अपनत्व ग्रहण गर्नसक्ने गरी त्यसैबाट विकास अभियान अगाडि बढाउने भन्ने रहेछ । वास्तवमा उहाँमा युवा उत्साह छ । आफ्नो समाजको लागि केही गरौं भन्ने हुटहुटी छ । उहाँसँग दृष्टिकोण, योजना र इमान्दारीता पनि छ । तर उहाँको यो योजना र दृष्टिकोणलाई प्रोत्साहन गर्ने जनपक्षिय राज्य व्यवस्था छैन ।
व्यक्तिगत फाइदा र घाटाको कोणबाट चलिरहेको यो पुँजीवादी राज्य व्यवस्थामा यस्ता इमान्दार र संघर्षशील व्यक्तिहरूले माथि उठ्नका लागि धेरै चुनौती पार गर्नुपर्ने हुन्छ । तै पनि हामी साहित्यको माध्यमवाट यो दृढ आवाज राख्छौं कि यस्ता उर्जाशिल युवाहरूको इच्छा मर्न नदिन राज्यले बेलैमा ध्यान दिनुपर्छ । मनमा यस्तै कुरा खेलाउँदै थिएँ । साथीहरू विभिन्न विषयमा हाँसो रङ्ग गर्दै हुनुहुन्थ्यो । यसैबीचमा अटो खलंगा आइपुग्यो ।
चुनबाट खलङ्गा आइपुग्दा शरिर लखतरान पर्यो । साथीहरुसङ्ग छुट्टिदै म अटोबाट ओर्लिएँ र घर आइपुगें । अनि सम्झे, बिहान बाटोमा भेटिएका ती परिचित साथीले गरेको प्रश्न, “साहित्यमा हिँडदा अरु के के हुन्छ ?”
“यस्तै यस्तै हुन्छ …….।” साथीको प्रश्नको जवाफमा लामो सास फेरेँ । अनि साँझ खाना नखाएरै बुङ्लुङ्ग ओछ्यानमा पल्टिएँ ।
-लेखक गिरीप्रसाद बुढा नेपाली साहित्यकार तथा राजनीतिज्ञ हुनुहुन्छ ।