रुकुम पश्चिम -१६, साउन ।
मस्त र व्यस्त शहर, शहरकै बीचमा एउटा पुरानो साझा बसिबियाँलो चौतारी थियो । अनेक सोच र आस्थाका मान्छेहरु शितल मार्दै गफिने गर्थे । एक दिन कसैले भन्यो, “हाम्रो धर्म नै सबैभन्दा ठूलो हो ।” अर्कोले त्यसको विरोध गर्यो । केही बेरमै तर्क बढ्दै गयो ।
त्यही बेला एक वृद्धले सडक किनारमा लडिरहेको बिरामी वृद्धलाई देख । उनले केही नभनी दौडेर उनलाई उठाए । मन्दिरबाट आएका युवकले पानी ल्याए । मस्जिदबाट आएका युवाले औषधि किनिदिए । गुम्बाबाट आएका भिक्षुले आफ्नै गाडीमा अस्पताल पुर्याए । चर्चबाट आएकी युवतीले उपचार खर्च जुटाउन सहयोग गरिन् । बिरामीको ज्यान बच्यो ।
वृद्धले मुस्कुराउँदै भने, “आज कसैले कसैको धर्म सोधेन । सबैले केवल एउटा मानिस देखे र उसको जीवन बचाए ।” त्यहाँ उपस्थित सबै मौन भए ।
वृद्धले फेरि भने, “धर्महरूबीच द्वन्द्व होइन, विकासका लागि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । जसले शिक्षा, स्वास्थ्य, करुणा र सेवामा समाजलाई अघि बढाउँछ, त्यही साँचो धार्मिकता हो ।”
त्यस दिन उनीहरूले बुझेका थिए-धर्मको बाटो फरक हुन सक्छ, तर गन्तव्य एउटै हो । साँचो धर्म भनेको गरिब, असहाय र दुःखी मानिसको सेवा गर्नु हो ।