रुकुम पश्चिम -१०, कात्तिक ।
रुकुम पश्चिमबाट चोरी गरेर फरार रहेका एकजना व्यक्तिलाई पर्सा जिल्लाबाट पक्राउ गरिएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर -१०, स्थित घमण्डबहादुर बुढाको घरमा डेरा गरी बस्दै आइरहेका पर्सा वीरगञ्जका १८ वर्षीय गणेशकुमार रामलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी कसुर मुद्दाका प्रतिवादी गणेशलाई कार्यालयबाट खटी गएको टोली र वडा प्रहरी कार्यालय श्रीपुर पर्सा सँग समन्वय गरेर पक्राउ गरिएको छ । निज गणेशले कात्तिक ४ गते घमण्डबहादुरको कोठामा पसेर पाँच लाख १५ हजार रुपैयाँ र आठ आनाको सुनको तिलहरी चोरी फरार भएका थिए ।
प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर खानतलासी गर्दा २ लाख १ हजार रुपैयाँ, एक थान मोबाइल र केही रिचार्ज कार्ड बरामत गरिएको जनाएको छ ।
पक्राउ परेका प्रतिवादी गणेशलाई सम्मानित रुकुम जिल्ला अदालत रुकुम पश्चिमबाट चोरी सम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको बताइएको छ ।