रुकुम पश्चिम -१६, भदौ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४, मा तिल्चा खोलाले बगाउँदा आज एकजना वेपत्ता भएका छन् । मुसिकोटबाट स्यार्पू ताल जाँदै गरेको रा ६ प १६१८ नम्बरको दुईजना सवार मोटरसाईकल खोलाले बगाउँदा एक जना वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार वेपत्ता हुनेमा मोटरसाइकल चालक मुसिकोट नगरपालिका -४, सोलाबाङका १८ वर्षीय प्रशान्त सन्यासी रहेका छन् । मोटरसाईकल पछाडि बसेका व्यक्तिको भने जेसीबीको प्रयोग गरेर उद्दार गरिएको प्रहरीले बताएको छ ।
उनी गोकुल गाउँपालिका -१, रामेछापका शिव बहादुर बस्नेत रहेका छन् । प्रहरीले बस्नेतलाई खोलाको बीच ढुंगामा फड्किएको अवस्थामा उद्धार गरिएको बताएको छ ।
प्रहरीले तिल्चा खोला पार गर्ने क्रममा एक्कासी मोटरसाइकल चिप्लिए खोलामा बेपत्ता व्यक्ति र मोटरसाइकलको खोजी तलास भइरहेको बताएको छ ।