रुकुम पश्चिम -११, भदौ ।
कर्णाली प्रदेश सरकारमा आज मात्रै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा सांसद मिलन खड्का नियुक्त हुनुभएको छ । रुकुम पश्चिमबाट प्रदेश सभामा समानुपातिक सांसदको रुपमा रहनुभएको खड्काले उक्त मन्त्रालयको मन्त्री पदमा शपथ लिनुभएको हो ।
यसै सन्दर्भमा नवनियुक्त मन्त्री खड्काको संक्षिप्त राजनीतिक चिनारी तल प्रस्तुत गरिएको छ ।
रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडानम्बर -९, राङजा जन्मनुभएको मिलन खड्का रोकाको स्थायी ठेगाना मुसिकोट नगरपालिका -१३, लामाडाँडा हो । विक्रम सम्वत २०३२ साल फागुन ८ गते बुवा दिर्गु खड्का र आमा बर्नी खड्काको कोखबाट उहाको जन्म भएको हो ।
२०४५ सालमा १४ वर्षको उमेर देखि नै राजनीतिको कखरा शुरु गर्नुभएको खड्काले कक्षा ६ मा पढ्दा राप्ती ज्ञानोदय मावि सिम्लीमा विद्यार्थी संगठनको इकाई सदस्यबाट राजनीति सुरु गर्नुभएको थियो ।
२०५३ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता प्राप्त गर्दै २०५४ मा उहाँले अखिल नेपाल महिला संघ क्रान्तिकारीको एरिया कमिटी (सिम्ली, गरायला, अर्मा, पुर्तिमकाँडा र घेत्मा गाविस) अध्यक्षको रूपमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो ।
२०५३ बैशाखदेखि २०५५ को भदौसम्म जनसहयोग प्रावि माथिल्लो अमडाँडामा शिक्षण गरेको अनुभव छ । सोही सिलसिलामा विद्यालयमा अध्यापनरत रहँदा नै प्रहरीले पक्राउ गर्न खोजेपछि ७ महिनाको गर्भसहित विद्यालय छाडेर २०५५ भाद्र ४ गतेदेखि पार्टीको पूर्णकालिन कार्यकर्ता बनेर जनयुद्धमा सामेल हुनुभएको थियो ।
पूर्णकालिन भएको २ महिनापछि सिम्लीको फुक्रुटाकुरामा २०५५ कार्तिक २ गते प्रहरीद्वारा श्रीमान टिकाराम ओलीको गिरफ्तारपछि हत्या भयो । सिम्लीको फुक्रुटाकुरामा उहाँका श्रीमान टिकाराम ओली सहित केही व्यक्तिको सामुहिक हत्या भएको थियो ।
२०५५ देखि २०५७ सम्म पार्टीको पुर्तिमकाँडा र अर्मा गाविस इन्चार्जको जिम्मेवारी सम्हाल्दै २०५६ देखि २०५८ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्य, कोषाध्यक्ष, सचिव हुँदै उपाध्यक्ष र २०५८ देखि २०६१ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभयो ।
पछि उहाँको ढाडमा टेकेर टाउकोमा हिर्काउने पार्टीको सैन्य अभियान अन्तरगत २०६१ मंसिरमा गण्डक क्षेत्रको पाल्पा जिल्लामा सरुवा भयो । २०६३ चैत्रसम्म पाल्पामा रहँदा पार्टीको जिल्ला सचिवालय सदस्य र एरिया इन्चार्जको जिम्मेवारीमा काम गर्दै पाल्पामै कार्यरत रहँदा २०६३ अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य भई सल्यान र रुकुम जिल्ला इन्चार्जको जिम्मेवारी निर्वाह गरेको राजनीतिक अनुभव छ ।
त्यस्तै २०६४ असोजमा नेकपा(माओवादी)को मगरात राज्य समिति सदस्यको जिम्मेवारीमा क्रियाशील रहनुभएका खड्का २०६८ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही २०७६ सम्म रुकुम जिल्ला इन्चार्ज हुँदै २०७८ मंसिरमा नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश सदस्य हुनुभयो ।
राजनैतिक जीवन शुरु गरेको ३४ वर्षपछि २०७९ मंसिरदेखि रुकुम पश्चिमबाट कर्णाली प्रदेश सभा सदस्य बन्दै २०८२ कात्तिकदेखि हालसम्म नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको खड्का २०८३ भदौ ११ गते कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास, मन्त्री बन्नुभएको हो ।
