रुकुम पश्चिम -३१, साउन ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४, बाँके पिपलगैराको आदर्श माविमा गए रातिको पहिरोबाट लाखौंको क्षति भएको छ । विद्यालय भवन माथिबाट पहिरो खस्दा भवन र कार्यालयमा लाखौँको क्षति भएको हो ।
विद्यालयका प्रधानाध्यापक तिलक नारायण मल्लका अनुसार पहिरोबाट ल्यापटप, दुईवटा प्रिन्टर, मिटर बक्स, इन्टरनेटको राउटर, कुर्सी, बेन्च लगायत विद्यालय भवनमा ठूलाे क्षति भएको छ । २०६३ सालमा सिएसपी मार्फत १२ लाखमा बनाइएको भवनमा पनि पहिरोले पूर्ण रूपमा क्षति गरेको छ । उक्त भवन चारैतिर चर्किएको बताइएको छ ।
पहिरोका कारण विद्यालयको प्रशासनिक कार्यालय पनि ध्वस्त भएको प्रअ मल्ले बताए । विद्यालय भवन भित्रै पहिरो खस्दा सोमबारदेखि सुरु हुने भनिएको त्रैमासिक परीक्षाका सबै सामग्रीमा पनि क्षति पुगेको छ ।
पहिरोका कारण आगामी दिनमा यस विद्यालयको नियमित पठनपाठन प्रभावित हुने देखिएको छ ।