रुकुम पश्चिम -२६, साउन ।
Advertisement
रुकुम पश्चिममा गएराती अरिङ्गाल पोल्दा रुखबाट खसेर एकजना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका -२, रातामाटाका अन्दाजी ३० वर्षीय आखिराम खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झबिन्द्र परियारका अनुसार घर नजिकैको कैलदेउमा सालको रुखमा चढेर अरिङ्गाल पोल्दै गर्दा एक्कासी खसेर खड्का घाइते भएका हुन् । उनी रुखबाट अन्दाजी दश मिटर तल खस्दा मेरुदण्ड लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घाइते खड्का रुखबाट लडेको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरीले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल बाँकेमा रिफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।