रुकुम पश्चिम -२४, साउन ।
रुकुम पश्चिममा ३२ औँ विश्व आदिवासी दिवस आज एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा विश्व आदिवासी दिवस मनाइएको हो ।
विश्वका आदिवासी जनजातिहरू एक होऔँ लगायत विविध नाराका साथ मुसिकोट बजार परिक्रमा गरेर विश्व आदिवासी दिवस कार्यक्रम मनाइएको आयोजकले बताएको छ । आदिवासी जनजातिको जातीय पहिचान, भाषा र अधिकारका लागि यो दिवस हरेक वर्षको अगस्ट ९ तारिखका दिन मनाउने गरिएको छ ।
संसारभर अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस आजकै दिन मनाउने गरिए पनि नेपालमा भने आदिवासी जनजाति महासङ्घको अगुवाईमा विविध कार्यक्रमको आयोजना गरेर विश्व आदिवासी दिवस मनाइन्छ ।
अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसलाई संयुक्त राष्ट्रसङ्घले सन् १९९४ अगस्ट ९ मा घोषणा गरेको थियो ।
मुसिकोटमा आयोजित विश्व आदिवासी दिवसमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनले आदिवासी जनजातिको भाषा, पहिचान, अधिकार, संस्कृति र इतिहासलाई जोगाउनका लागि एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासङ्घका भित्रका विभिन्न संघ र समाजमा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।