रुकुम पश्चिम -२९, असार ।
त्रिवेणी गाउँपालिका वडानम्बर -१०, भुम्केमा सोमबार बुरा बाबा सिद्ध गुफा मन्दिरको स्थापना तथा पूजापाठ गरिएको छ । गुफा संरक्षण तथा विकास समितिको आयोजनामा सिद्ध गुफाभित्र पूजापाठ र मन्दिरको स्थापना गरिएको हो ।
पण्डित धर्मराज बराल गुरुजी र पण्डित शालिकराम रिजालको उपस्थितिमा गुफामा पूजापाठ गरेर मन्दिर स्थापना गरिएको समितिले बताएको छ । मन्दिर स्थापनासँगै गुफा परिसरमा समितिले आयोजना गरेको एक कार्यक्रममा द्वय पण्डितले धार्मिक तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरेका छन् ।
यस गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपम रहेको सिद्धगुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले यसै चालु आर्थिक वर्षको बजेटले गुफा वरिपरि घेराबार गरिएको छ । त्यस्तै गुफाको जिर्णोद्वार र पदमार्ग निर्माण पनि गरिएको छ ।
यहाँको गुफा संरक्षणका लागि प्रदेश सभा सदस्य कल्याणी खड्काको पहलमा संसद विकास कोषको २५ लाखले विभिन्न संरचना निर्माण गरिएको बताइएको छ ।