रुकुम पश्चिम -१९, असार ।
रुकुम पश्चिमलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्लेमा जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रम मार्फत पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
राष्ट्रिय खोप सुनिश्चितता निर्देशिका अनुसार तोकिएको उमेर समूह भित्र पर्ने जिल्लाका बालबालिकालाई सबै मात्राको खोप लगाइएकोले रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको खोप समन्वय समितिले बताएको छ ।
जन्मेदेखि १५ महिना र १५ देखि ५९ महिनासम्मका जिल्लाका ६ वटै पालिकाका बालबालिकालाई बीसीजी, डिपिटी, हेपाटाइटिस बी, पोलियो, पीसीभी, दादुरा-रुबेला लगायतको सबै मात्रा पूरा गरिएको छ ।
सोही अनुसार यो वर्षका लागि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।
पूर्ण खोप सुनिश्चितताका लागि जिल्लाका लक्षित उमेर समूहका बालबालिकाको जनभेटघाट तथा पहिचान, खोपको मात्रा र पूर्णता, घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण तथा प्रतिबद्धता आवश्यक पर्दछ ।
पूर्ण खोप कार्यक्रमको उद्देश्य रोग नियन्त्र, निवारण र उल्मुलन गर्नु रहेको छ ।