रुकुम पश्चिम -१८, असार ।
रुकुम पश्चिममा सवारी दुर्घटना गराउने एकजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राति मुसिकोट नगरपालिका -३, माछिमी स्थित भित्री सडकमा सवारी दुर्घटना गराई फरार रहेका चालकलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार पक्राउ पर्नेमा सोही वडाका ३१ वर्षीय खिम बहादुर ओली रहेका छन् । ओलीले चलाएको भे १ च २९४८ नम्बरको किराना सामान बोकेको सिङ्गलक्याप सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो ।
तर, चालक भने फरार हुँदा घटनास्थलमा मुसिकोट -४ का अन्दाजी २८ वर्षीय प्रकाश खड्का घाईते अवस्थामा प्रहरीले फेला पारेको हो । घाइते खड्काको हाल मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको र स्वास्थ्यमा पनि सुधार आएको प्रहरीले बताएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ओलीलाई आज बिहान १० :३० बजे मुसिकोट नगरपालिका वडानम्बर -५, सेरिगाँउबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
दुर्घटनामा परेको सिङ्गलक्याप चौरजहारीबाट सोलाबाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।