रुकुम पश्चिम -१५, असार ।
यस वर्षको असार १५ आज २३औं राष्ट्रिय धान दिवस मनाइँदैछ । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै, एकअर्कामा हिलो खेलेर, नाचगान गरेर छुपुछुपु हिलोमा धान रोपिन्छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका धेरै जसो भागमा पर्याप्त मात्रामा धान रोपाइँका लागि वर्षा हुन सकेको छैन ।
यसैबिच कर्णाली प्रदेश सरकारले आज धान दिवसको दिन जुम्ला बाहेक सबै जिल्लामा सार्वजनिक विदा दिएको छ । यस अवसरमा जिल्ला स्थित कृषि विकास कार्यालयको आयोजनामा आज बिहान ८ बजे मुसिकोट नगरपालिकाको ट्याखोलामा धान दिवस कार्यक्रम राखिएको छ ।
त्यस्तै रुकुम पश्चिमका विभिन्न पालिकाले पनि धान दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी खेतमै पुगेर किसानसँग धान रोपाइँ गर्दैछन् ।