रुकुम पश्चिम -१३, असार ।
हे भगवान रूपी हृदयका मानव तिमी कहाँ छौ
यो सुन्दर अनुपम देश बेहाल भएको छ
हिमालको काखमा छौ कि कन्धरा पर्वतमा
नदीका किनारमा छौ कि तालै तालको तटमा
समथल तराईको बेसीमा छौ कि मधेस चुरेमा
साच्चै ! तिमी यो धर्तीको कुन लोकमा छौ ?
देखिन्न खोज्दा कुनै काल चाँडै हराउँछौ ।
मेरो देशमा प्राचीनदेखि वर्तमान केलाउँदा
कस्तो विडम्बना लाग्ने काण्डै काण्ड भेटाउँदा
कति सत्ताको भोग रहेछ ऊ काण्डमै छ
राज्यको दोहन गर्ने भ्रष्ट रहेछ ऊ काण्डमै छ
कोही यौन पिपासु रहेछ ऊ काण्डमै छ
कोही हत्यारा, व्यभिचारी रहेछ, ऊ काण्डमै छ ।
यति काण्डै काण्डको जञ्जालले जेलिएको देशमा
कसैलाई सजाय छैन कसैलाई न्याय छैन यो देशमा
काण्डमै कोही स्वतन्त्र पाराले घुमिरहेछ
काण्डमै निर्दोष कोही बन्धनमा परिरहेछ
किन असमान व्यबहार गर्न सक्छ राज्यले
समानता भए पो अग्रगामी पाउँथ्यो देशले
काण्डै काण्डका फाइल फेहरिस्त खोलेर
निकास देशलाई कसले दिन सक्ला लडेर
सत्यताको पथमा कसले लान सक्ला नेपाल
भगवानरुपि हृदयका मानव तिमी कहाँ छौ ?