रुकुम पश्चिम -१, माघ ।
आज माघे सङ्क्रान्ति पर्व नेपाल भर मनाइँदैछ । विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजा आजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइन्छ ।
यस पर्वलाई मकर सङ्क्रान्ति तथा माघीका नामले पनि चिनिन्छ । ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास रहिआएको छ ।
माघे सङ्क्रान्तिको दिन आज देशका ठूला नदी तथा धामहरूमा स्नान तथा पूजापाठ गर्नेहरूको ठूलो भिड लाग्ने गर्दछ ।
महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।