रुकुम पश्चिम -६, भदौ ।
आजबाट नेपाली सिनेमा हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रवार बिहानैदेखि देशका सबै हलहरुमा “माग्ने राजा” “जनै हराएको मान्छे” र “ताराहरू” गरी तीन चलचित्र प्रदर्शनमा आएका हुन् ।
प्रदर्शनमा आएका तीन चलचित्र मध्य “माग्ने राजा”ले १ सय ४५ “जनै हराएको मान्छे” ले १ सय १५ र “ताराहरू” ले ३० शो पाएको छन् । हलहरुले वितरण गरेको शो अनुसार “ताराहरु” भन्दा “माग्ने राजा” र “जनै हराएको मान्छेलाई” बढी शो उपलब्ध गराइएको छ ।
“माग्ने राजा” मा मुख्य कलाकारका रुपमा केदार घिमिरे (माग्ने बुढा) ले अभिनय गरेका छन् । ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरे निर्माता रहेको फिल्ममा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरी लगायतको अभिनय छ ।
कमल न्यौपाने र विमल न्यौपानेको संयुक्त निर्माण र हिमाल न्यौपानेको डेब्यु निर्देशनमा निर्माण भएको “जनै हराएको मान्छे” मा भने नेपालमा अत्याधिक व्यापार गरेको चलचित्र “पुर्ण बहादुरको सारङ्गी”का नायक विजय बरालले अभिनय गरेका छन् । विजय सँगै नायिका केकी अधिकारी, मिरुना मगर, साथै सुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रेअर राई, सुमन थापा,भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ ।
त्यस्तै, ‘ताराहरू’मा मुख्य कलाकारका रुपमा आशान्त शर्मा र मेनुका प्रधान छन् । चलचित्रमा मुख्य भुमिका निभाएका आशान्तको निर्देशनमा निर्माण भएको चलचित्रमा कुन्दुन शाक्य, मिरा खड्का लगायतको पनि अभिनय छ । चलचित्रलाई गोपिनी शेडाईले निर्माण गरेकी हुन् ।