रुकुम पश्चिम -७, साउन ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले ४७ औँ पुष्पलाल स्मृति दिवस मनाएको छ । मुसिकोट खलङ्गामा आज एक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस मनाएको हो ।
सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि नेपालमा कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानलाई सम्झिँदै स्मृति दिवस मनाइएको नेकपा एस रुकुम पश्चिमले बताएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि शेरबहादुर केसीले पुष्पलालले स्थापना गरेको बाटोमा एकीकृत समाजवादी लागेको बताउँदै अब नेपालमा पनि बृहत कम्युनिष्ट पार्टी एकता हुनुपर्ने विचार व्यक्त गरे ।
कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, केन्द्रीय सदस्य देवी ओली, बिमल कुमार पुन, प्रदेश सदस्यहरू लगायत जिल्ला कमिटीका सदस्य तथा पार्टी कार्यकर्ताको उपस्थितिमा स्मृति दिवस कार्यक्रम मनाइएको हो ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेकाले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछन् ।
पुष्पलालले नै पार्टीको घोषणापत्रमा नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा सहित घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको थियो ।