रुकुम पश्चिम -१३, असार ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टि ट्वान्टी सिरिज खेल्ने छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले अस्ट्रेलिया भ्रमणको क्रममा डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिज खेल्नेछ ।
सिरिजमा पाकिस्तान तथा बंगलादेशको ए टिम तथा बिग बास लिग (बिबिएल) का विभिन्न टोलीहरुको सहभागीता रहने छ । सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ ।
नेपाली टोलीले अगस्ट १४ देखि २४ गतेसम्म अस्ट्रेलिया भ्रमण गर्ने बताएको छ । नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ ।
विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ ।