रुकुम पूर्व -३, असार ।
रुकुम पूर्वको भुमे गाउँपालिकाको खाबाङ बगरमा सोमबार देखि भुमे सांस्कृतिक महोत्सव सुरु भएको छ । “हाम्रो भुमे हाम्रो पहिचान : स्थानीय भाषा, कला, संस्कृति जगेर्ना हाम्रो अभियान” भन्ने मूल नारा सहित पाँचौं भुमे सांस्कृतिक महोत्सव खुल्ला प्रतियोगिता सुरु भएको हो ।
असार ५ गतेसम्म सञ्चालन हुने महोत्सवको ब्यानर पढेर तथा धूप पूजा गरेर लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटनमा भूमे गाउँपालिकाका सबै वडा र छिमेकी पालिकाबाट भव्य झाँकी प्रस्तुत भए ।
भूमे साँस्कृतिक खुला प्रतियोगितामा रुकुम पूर्व लगायत अन्य जिल्लाका साँस्कृतिक झाँकी तथा प्रस्तुतिहरु प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ ।
भूमि देवताको रूपमा पूजा तथा नाचगान गरेर मनाइने भुमेलाई स्थानीय सरकार निर्माणपछि सांस्कृतिक महोत्सवको रूपमा आयोजना गरिँदै आएको छ । यसबाट भूमेको पहिचान र संस्कृति विश्वव्यापी रूपमा बढ्दै गएको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुको भनाइ थियो ।