रुकुम पश्चिम -६, जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान रक्षाका लागि नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज चौरजहारीको जनसभामा बोल्दै मुलुकमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रबाट बनेको संविधान अहिले खतरामा परेको भन्दै संघर्ष सहितको नयाँ क्रान्ति गर्नुपर्ने प्रचण्डको भनाइ छ । “अब हुने नयाँ क्रान्ति भूमिगत हुँदैन, त्यो सडक र सदनबाटै सुरु हुन्छ । जसले संविधानको रक्षा मात्रै नभएर सांस्कृतिक र आर्थिक समृद्धि कायम गर्नेछ, अध्यक्ष प्रचण्डले भने ।”
अहिले देशमा दलाल र पूँजीपतिका कारण भ्रष्टाचार मौलाउँदै गएकाले सुशासन कायम गर्न माओवादी केन्द्रले जागरण अभियान थालनी गरेको बताउनुभयो । जनतासँग माओवादी जनजागरण अभियान समाजवादको दिशा तयार गर्ने नयाँ अभियान रहेको बताउँदै यसैले समाजवादी क्रान्ति पूरा हुने प्रचण्डको भनाइ छ ।
समाजवादी क्रान्तिका लागि यो अभियानले स्वतन्त्रता सहितको आर्थिक समृद्धिलाई पनि जोड्ने भएकाले जनताका अगाडि आएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
यसैगरी नेता प्रचण्डले अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्णाली, सुदूर र मधेशको पक्षमा नरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा अघिल्लो सरकारले ल्याएका लोकप्रिय नीति तथा कार्यक्रम कटौती गरेर दलाल पूँजीपतिको पक्षमा कार्यक्रमहरू ल्याएको ठोकुवा गरे ।
अध्यक्ष प्रचण्डले नेपालमा अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको समेत बताउनुभयो । यसबाट भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुने उहाँको भनाइ छ ।