रुकुम पश्चिम -२, जेठ ।
रुकुम पश्चिमको मुसिकोटमा सिस्नुपानीको प्रस्तुति हेर्न पाइने भएको छ । जेठ ७ गते दिउँसो १ बजे सहिद प्रतिष्ठानको हल सेरीगाउँमा निशुल्क रुपमा सिस्नु पानीको प्रस्तुति हेर्न पाइने छ ।
हास्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकारहरूको उपस्थितिमा सिस्नुपानीको टोलीले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गर्ने राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले बताएको छ । सिस्नुपानी टोलीमा लक्ष्मण गाम्नागे, मनोज गजुरेल, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टङ्क आचार्य, सरोज घिमिरे, चक्र दवाडी लगायतले प्रस्तुति राख्नेछन् । त्यस्तै मनोज गजुरेलका दुरुस्तै आकृति र क्यारिकेचर पनि हेर्न पाइने भएको छ ।
कार्यक्रममा लक्ष्मण गाम्नागेका हृदयमा तरङ्ग मच्चाउने कविताहरू, अर्जुन पराजुलीका मस्तिष्कमा तुफान मच्चाउने कविताहरू र शिशिर योगीका गीतहरू पनि सुन्न र हेर्न पाइने छ ।
सिस्नुपानी कार्यक्रमका लागि मुसिकोट नगरपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र राप्ती साहित्य परिषद्ले सहजीकरण गर्ने बताइएको छ ।
नेपाली साहित्य, कला संरक्षण र प्रवर्द्धन एवं हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउने तथा भ्रष्टाचार उन्मूलन र सुशासन स्थापनाको लागि सरोकारवालाहरूलाई घचघच्याउनु सिस्नुपानीको उद्देश्य रहेको छ ।