रुकुम पश्चिम -१, वैशाख ।
आज देखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको आज पहिलो दिन पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईले बताए ।
नयाँ वर्षमा आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण तथा सङ्कल्प गर्दछन् ।
यसै अवसरमा बिहानै उठेर नुहाउने, पूजा आराधना गर्ने, मीठोमीठो खाने, नयाँ ठाउँको भ्रमण गर्ने गरिन्छ ।
साथै विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको पाइन्छ ।