रुकुम पश्चिम -१, चैत ।
सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार महिलाहरूका लागि व्यावसायिक र जवाफदेही पत्रकारितामा लैङ्गिक संवेदनशीलता सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजना तथा सोसेक नेपालको सहयोगमा तालिम सुरु भएको हो ।
तालिममा जाजरकोट, सल्यान, दैलेख र सुर्खेत जिल्लाका क्रियाशील पत्रकार महिलाहरूको सहभागिता रहेको उपाध्यक्ष लक्ष्मण केसीको भनाइ छ । महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कँडेलको प्रमुख अतिथि रहेको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, सोसेक नेपालका प्रतिनिधि बसन्त श्रेष्ठ, पत्रकारका विभिन्न पेशागत संघ सगठनका प्रमुख तथा प्रतिनिधि, महासंघका शाखा अध्यक्षहरू लगायतको उपस्थिति रहेको बताईएको छ ।
महासंघका महासचिव खगेन्द्र भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण केसीले स्वागत मन्तव्य राख्दै तालिमबारे जानकारी गराउनुभएको थियो । उपाध्यक्ष अप्सरा बिष्टले उद्घाटन सत्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको महासंघले बताएको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस तालिमले पत्रकार महिलाहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न मद्दत पुग्नेछ । साथै, उनीहरूका चुनौती र अवसरबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ । तालिमको सहजीकरण महासंघका अध्यक्ष निर्मला शर्मा र पत्रकार एवम् लेखक मोहन मैनालीले गर्ने बताइएको छ ।
महासंघले यसपटक सीमित स्रोतका कारण सबै जिल्लाका सहभागीलाई समेट्न नसकिएको भए पनि बाँकी ६ जिल्लाका लागि दोस्रो चरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।