रुकुम पश्चिम -१४, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन, पारिवारिक मेलमिलाप तथा सम्मानजनक र खुसी जीवनयापनलाई प्रोत्साहन गर्न एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल जनजागरण मञ्च रुकुम पश्चिमको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
“सम्मानित जीवन, स्वस्थ मन, सुखी परिवार र खुसी ज्येष्ठ नागरिक” भन्ने उदेश्यका अनुसार कार्यक्रमको आयोजना गरिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए ।
कार्यक्रममा ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुने विषयमा जोड दिइएको बताइएको छ । उमेर बढ्दै जाँदा देखिन सक्ने एक्लोपन, निराशा, चिन्ता, तनाव तथा भावनात्मक समस्याको पहिचान र व्यवस्थापनका उपायबारे सहभागीलाई जानकारी गराइएको हो ।
अभिमुखीकरणका क्रममा सकारात्मक सोचको विकास, भावनात्मक सन्तुलन, तनाव व्यवस्थापन, आत्मसम्मान, पारिवारिक सद्भाव तथा सामाजिक सहभागिताका विषयमा सहजीकरण गरिएको छ । साथै परिवारका सदस्यले ज्येष्ठ नागरिकप्रति देखाउनुपर्ने माया, ममता, सम्मान, हेरचाह र जिम्मेवारीका विषयमा समेत छलफल गरिएको जनजागरण मञ्चले बताएको छ ।
त्यस्तै ज्येष्ठ नागरिक परिवार र समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूसँग रहेको जीवन अनुभव, ज्ञान, सीप र योगदानको उचित कदर गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक वातावरण प्रदान गर्नुका साथै परिवार र समुदायका गतिविधिमा सक्रिय सहभागिताको अवसर सिर्जना गर्न सके उनीहरूको आत्मविश्वास र जीवनप्रतिको सकारात्मक दृष्टिकोण बढाउन सकिने विषय समेत उठाइएको छ ।
कार्यक्रमले ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै तनावमुक्त जीवनयापन, पारिवारिक सम्बन्ध सुदृढीकरण र सामाजिक सम्मानको वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण करिअर डेभलपमेन्ट रिसर्च एण्ड ट्रेनिङ सेन्टरले गरेको जनाइएको छ ।