रुकुम पश्चिम -१३, कात्तिक ।
रुकुम पश्चिममा सञ्चालित होप परियोजनाले कृषक समूहका सदस्यहरूलाई उन्नत जातका तरकारीका बिउ तथा पानी फिल्टर वितरण गरेको छ । समुदायको कृषि उत्पादन वृद्धि, पोषण तथा खाद्य सुरक्षा प्रवर्धन, आयआर्जनका अवसर विस्तार र जलवायु उत्थानशील जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले बाँफिकोट गाउँपालिकामा सञ्चालित परियोजनाले ताजा तरकारीका बिउ वितरण गरेको हो ।
परियोजनाअन्तर्गत समूहमा आबद्ध एकसय ७० जना कृषकलाई बन्दा, काउली, टमाटर, मुला, धनियाँ, केराउ लगायत विभिन्न जातका मौसमी तरकारीका बिउ वितरण गरिएको परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले जानकारी दिएका छन् ।
तरकारी खेतीलाई प्रोत्साहन गर्दै घरपरिवारमै ताजा तथा पोषणयुक्त तरकारीको उपलब्धता बढाउनुका साथै अतिरिक्त उत्पादन बिक्री मार्फत कृषकहरूको आयआर्जनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले स्थानीय स्तरमा कृषि उत्पादन र खाद्य सुरक्षालाई थप मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
त्यसैगरी, सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले परियोजनाले समूहका ५० जना सदस्यलाई पानी फिल्टर वितरण गरेको छ । फिल्टरको प्रयोगबाट पानी शुद्धीकरण गरी सुरक्षित खानेपानी उपभोग गर्ने बानीको विकास हुनुका साथै पानीजन्य रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त सामग्री वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिका वडानम्बर -४, का वडा सदस्य कमला विक र वडानम्बर -१०, का वडा सदस्य अस्मिता विकले संयुक्त रूपमा कृषक समूहका सदस्यहरूलाई तरकारीका बिउ तथा पानी फिल्टर हस्तान्तरण गरेका छन् ।
कृषि उत्पादन, पोषण, खाद्य सुरक्षा तथा स्वच्छ खानेपानीको पहुँचमा सुधार ल्याउने यस्ता सहयोगले स्थानीय समुदायको जीवनस्तर उकास्न र जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्ने उत्थानशील समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।