रुकुम पश्चिम -९, कात्तिक ।
आजदेखि टियु क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । तेस्रो संस्करणको एनपीएलको उद्घाटन खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
उद्घाटनको पहिलो खेल आज दिउँसो साढे ४ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ । एनपीएलमा कुल ८ टिमको सहभागिता रहने छ । एनपीएलमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएलको तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसपटक टियु क्रिकेट मैदानमा हुने तेस्रो संस्करणका सबै खेलमा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ ।
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएसँगै यसपटकको संस्करणमा विदेशी स्टार खेलाडीहरूको समेत सहभागिता रहेको छ ।
तेस्रो संस्करणको एनपीएल फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।