रुकुम पश्चिम -७, कात्तिक ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४, बाँकेज्युलामा एकसय १०औं मेला लाग्ने भएको छ । राष्ट्रका लागि खेलकुद : स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ कात्तिक १५ गते देखि बाँकेज्युला मेला सुरु हुने भएको छ ।
परम्परागत रूपमा लाग्दै आएको बाँकेज्युला मेला विविध खेलकुद तथा सांस्कृतिक झाँकी सहित उद्घाटन हुने आयोजकले बताएको छ ।
मेलामा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । भलिबलमा प्रथम हुनेले ८१ हजार, दोस्रो हुनेले ५५ हजार, तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क आठ हजार लाग्ने आयोजकको भनाइ छ ।
त्यस्तै मेलामा भाले तान्ने, घैँटो फोर, छेलो प्रतियोगिता राखिएको छ । सांस्कृतिक तर्फ मयुर नाच र सिंगारु नाच प्रस्तुत हुने छ ।
सांस्कृतिक झाँकीलाई पनि उचित पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा भाग लिने टिमले कात्तिक १४ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्नुपर्नेछ ।