रुकुम पश्चिम -३०, असोज ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज एक कार्यक्रम आयोजना गरी ७१औं प्रहरी दिवस मनाएको छ । “विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूल नाराका साथ प्रहरी दिवस २०८३ मनाएको हो ।
प्रमुख जिल्ला अधिकारी निशान राज गाैतमको प्रमुख आतिथ्यता तथा प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलको अध्यक्षता रहेको प्रहरी दिवस कार्यक्रममा प्रहरी कार्यालयले अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट प्रहरी कर्मचारीलाई कार्यालयले पुरस्कार सहित सम्मान गरेको छ ।
नेपाल प्रहरीले प्रहरी ऐन जारी भएको सम्झना, अमर प्रहरीप्रति श्रद्धाञ्जली, योगदानको कदर र वर्षभरि प्रहरी संगठनले गरेका कामको समीक्षा तथा आगामी कार्ययोजना बनाउन प्रहरी दिवस मनाउने गरेको छ ।
विक्रम सम्वत २०१२ साल असोज ३० गते ‘प्रहरी ऐन, २०१२’ मा लालमोहर लागेर कानुनी रूपमा नेपाल प्रहरी संगठनले औपचारिक मान्यता पाएको थियो । यसै अवसरमा हरेक वर्ष असोज मसान्तको आसपासमा प्रहरी दिवस मनाउने गरिएको छ ।
साथै प्रहरी दिवसको अवसरमा देशैभरका प्रहरी कार्यालय तथा मातहतका निकायले रक्तदान, वृक्षारोपण, लागू औषध विरुद्धको अभियान लगायत सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गरेको पाइन्छ ।