रुकुम पश्चिम -२८, साउन ।
संयुक्त रुकुम यातायात प्रालि दर्ता भएसँगै पहिलोपटक मुसिकोटमा आज नयाँ बस भित्रिएका छन् । रुकुम पश्चिम-काठमाडौँ तथा काठमाडौँ-रुकुम पश्चिम चल्ने गरी प्रालि मार्फत नयाँ एसी स्लिपर बस भित्रिएका हुन् ।
रुकुम श्री नाम दिइएको प्रालिले चारवटा बस मध्ये तीनवटा नयाँ बस मुसिकोट पुर्याएको समितिका अध्यक्ष डम्बर थापाले बताए । अर्को एकवटा बस काठमाडौँ राखिएको छ ।
भदौ १ गतेदेखि रूट अनुसार नियमित रूपमा सञ्चालन गर्ने गरी मुसिकोट ल्याइएका बसलाई समितिले भव्य रूपमा स्वागत गरेको छ । त्रिवेणीको पन्चेबाजा र मयुर नाचले नयाँ बस, ड्राइभर र स्टाफलाई खादा र अबिरले स्वागत गरिएको हो ।
साढे ४ करोड लगानी गरिएका सुविधायुक्त बस रुकुम पश्चिमको सिम्लीदेखि काठमाडौँसम्म सञ्चालन हुनेछन् । यस प्रालिले फूल भाँडा काटेर यात्रा गर्ने यात्रुलाई मासु खानाको व्यवस्था गर्ने जनाएको छ ।
त्यस्तै प्रत्येक दिन टिकट काटेका यात्रु मध्य एकजनालाई लक्की ड्र मार्फत भाडा छुट गर्ने योजना बनाएको छ ।
३२ सिट क्षमताका चारवटा बसमा केही यात्रुलाई सुतेर यात्रा गर्ने व्यवस्था समेत राखिएको छ । नयाँ सुविधायुक्त बसमा सोफा सिट, एसी, वाईफाई, मोबाइल चार्जिङ पोइन्ट र टिभी जडान गरिएको उक्त प्रालिले बताएको छ ।
यी बसमा यात्रा गर्दा यात्रुलाई अन्य बसको तुलनामा केही प्रतिशत बढी भाडा लाग्ने छ ।