रुकुम पश्चिम -१०, असार ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेको छ । गाउँसभाको १५ औँ अधिवेशनबाट ८३/८४ को बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेले प्रस्तुत गरेको बजेट वक्तव्यमा ५४ करोड ९४ लाख ३९ हजार नौसय ५६ विनियोजन गरिएको छ । कुल विनियोजित बजेट मध्ये ३८ करोड ९६ लाख ३९ हजार नौसय ५६ अर्थात् ७० दशमलव ९२ प्रतिशत चालु खर्च र १५ करोड ९८ लाख अर्थात् २९ दशमलव ०८ प्रतिशत पुँजीगत खर्चतर्फ बजेट विनियोजन गरिएको छ ।
आगामी वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको बजेट स्रोतमा आन्तरिक राजस्व, संघीय सरकार वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा प्रदेश सरकारका सशर्त, सम्पूरक र विशेष अनुदान रहेका छन् ।
पालिकाले विनियोजन गरेको बजेट मार्फत गाउँपालिकाको भौतिक पूर्वाधार तथा सडक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटन, खानेपानी, सूचना सञ्चार, सामाजिक सुरक्षा तथा सुशासन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।