रुकुम पश्चिम -४, साउन ।
आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ ।
बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाको बेला ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकारवाला निकाय सबैमा अनुरोध गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।