रुकुम पश्चिम -३२, असार ।
आज देशका पाँचवटा प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको केही स्थान सहित मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने बताएको छ ।
देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै आज दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको जनाएको छ । यस्तो बेला सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ ।
यसैगरी ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकारवाला निकाय सबैमा अनुरोध गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।