अमरराज पुन
रुकुम पश्चिम -१९, असार ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको झण्डै एक साता हुन लाग्यो । यस वर्ष एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भए ।
गत बर्षको तुलना भन्दा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखियो । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यस पटक गत वर्षभन्दा १४ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भए ।
समग्रमा देशैभरको नतिजामा सुधार हुँदै गर्दा रुकुम पश्चिमको एसइई नतिजामा पनि सुधार भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका इकाइ प्रमुख तारा प्रकाश पुन मगरले यो वर्ष ७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । यो प्रतिशत गत वर्षभन्दा करिब ११ प्रतिशत बढी हो ।
रुकम पश्चिमबाट साधारण र प्राविधिक तर्फ गरी तीन हजार चारसय ४५ विद्यार्थीले एसइ परीक्षा दिएका थिए । जसमध्ये ८ सय ६३ विद्यार्थी मात्रै नन ग्रेडेड भएका छन् । यसवर्ष जिल्लाभरबाट एकसय ६ जना विद्यार्थीले ए प्लस अर्थात् (३.६१ देखि ४.०) जिपिए प्राप्त गरेका छन् ।
यी हुन् रुकुम पश्चिमका उत्कृष्ट तीन विद्यार्थी, (यस्तो छ जिपिए)
रुकुम पश्चिमको समग्र एसइई नतिजा माथि नै उल्लेख गरिसकिएको छ । तर उत्कृष्ट जिपिए कुन विद्यालयमा अध्ययनरत विद्यार्थीले प्राप्त गरे त्यो चासोको विषय बन्दै गएको छ । यसै सन्दर्भमा सुधार न्युजले एसइईमा जिल्लाका उत्कृष्ट तीन जना विद्यार्थीको प्राप्त जिपिएलाई टप १ बाट सुरु गरेको छ ।

प्रेम ओली ३.९५
१) प्रेम ओली
ठेगाना – चौरजहारी नगरपालिका -१२, रुकुम पश्चिम ।
विद्यालय – श्री शितल माध्यमिक विद्यालय चौरजहारी रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९५
सानै उमेरदेखि पढाइमा अब्बल प्रेम ओलीले यस वर्षको एसइई परीक्षामा ३.९५ जिपिए प्राप्त गर्दै रुकुम पश्चिमबाट टप बनेका छन् । अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा समेत प्रतिभावान ओली शितल माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । उनले विद्यालय स्तरका थुप्रै पुरस्कार जितेको सोही विद्यालयका शिक्षक तथा अभिभावक दिलबहादुर ओली बताउँछन् । यस वर्ष शितल माध्यमिक विद्यालयबाट ११ जनाले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेको विद्यालयको भनाइ छ ।

निकेन रावल ३.९४
२) निकेन रावल
ठेगाना – त्रिवेणी गाउँपालिका -९, रुकुम पश्चिम ।
विद्यालय – श्री राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्ली रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९४
विद्यालय उमेरदेखि नै पढाइमा अब्बल निकेन रावलले यस वर्षको एसइई परीक्षामा ३.९४ जिपिए प्राप्त गरेका छन् । कक्षा आठमा सानीभेरी गाउँपालिका टप गरेका निकेन सधैँ प्रथम स्थान हासिल गर्ने विद्यार्थी हुन् । अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा पनि उनको क्षमता दखल रहेको शिक्षक तथा अभिभावक नविन रावल बताउँछन् । यस वर्ष यो विद्यालयबाट ६ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरे ।

प्रदिप ओली ३.९२
३) प्रदिप ओली
ठेगाना – मुसिकोट नगरपालिका -७, रुकुम पश्चिम ।
विद्यालय – श्री बालकल्याण माध्यमिक विद्यालय झुल्खेत रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९२
प्रदिप ओली विद्यालय तहको पढाइदेखि नै तीक्ष्ण दिमाग गरेका विद्यार्थी हुन् । उनले यस वर्षको एसइई परीक्षामा ३.९२ जिपिए प्राप्त गरेका छन् । विद्यालय परीक्षामा सधैँ प्रथम हुने प्रदिप अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा समेत लगनशील रहेको विद्यालय शिक्षक खडानन्द शर्माले बताए । यस विद्यालयबाट ४ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेका छ्न् ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट ग्रेडेड हुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना छ । सुधार न्युज ।