रुकुम पश्चिम -१६, असार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११, को तीनवटा गाउँमा सोलार लिफ्ट मार्फत खानेपानी पुर्याइएको छ । मुसिकोट नगरपालिका र स्थानीयको जनश्रमदानबाट ६१ घरधुरीलाई पुग्ने गरी खानेपानी पुर्याइएको हो ।
मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनले नगरपालिकाको २५ लाख बजेट र स्थानीयको जनश्रमदानबाट तीनवटा गाउँमा खानेपानी पुगेको बताए । १२ घनमिटरको ट्याङ्कीबाट बाजागाउँ, राउटेबारा र गाउँटोल बस्तीमा खानेपानी पुगेको छ ।
करिब ९ सय मिटर टाढा रहेको धागेछरी मुहान बाट पाइप जडान गरी सोलार लिफ्ट प्रणाली मार्फत थप ८ सय मिटर टाढा अर्को ट्याङ्की निर्माण गरेर तीनवटा गाउँमा खानेपानी पुर्याइएको स्थानीय जनप्रतिनिधि शसिराम रोकाले जनाए ।
उनका अनुसार मुसिकोट नगरपालिकाको २५ लाख, खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयको २५ लाख र स्थानीयको १० लाख जनश्रमदान गरी ६० लाख लगानीमा दुई वटा ट्याङ्की निर्माण गरिएको छ ।
हाल एकैसाथ तीनवटा गाउँमा खानेपानी पुगेपछि स्थानीय उपभोक्ता सरकारको कामप्रति खुसी भएका छन् । ठूला-पधेँरा-बाजगाउँ खानेपानी योजना मार्फत तीनवटा गाउँमा खानेपानी पुर्याइएको हो । यसअघि यहाँका स्थानीयले कालाखोला मुहानबाट खानेपानी बोकेर खाने गर्थे ।
मुसिकोट नगरपालिकाले नेपाल सरकारको नीति अनुरुप एक घर एक धारा कार्यक्रमलाई कार्यान्वयन गर्न सोलार जडित लिफ्ट खानेपानी व्यवस्थापन गरिएको बताएको छ ।