रुकुम पश्चिम -१४, जेठ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज र बाँफिकोट गाउँपालिका -२, को सहकार्यमा आउँदो जेठ १७ र १८ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । रुकुम पूर्वी र पश्चिमी भागका बासिन्दालाई लक्षित गर्दै बाँफिकोट गाउँपालिकाको पिपल जिपुमा शिविर सञ्चालन गरिने भएको हो ।
शिविरमा शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ विशेषज्ञ डाक्टर, मेडिकल अफिसर, फार्मेसिस्ट र ल्याब टेक्नेसियनहरू सहभागी हुने आयोजकले जनाएका छन् ।
शिविरमा सामान्य चिकित्सा सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, हाडजोर्नी जाँच, नाक, कान, घाँटीसम्बन्धी समस्या, मुटु, मृगौला र फोक्सो सम्बन्धी उपचार, छाला सम्बन्धी रोग, स्नायु तथा मानसिक रोगको परीक्षण, मुत्र तथा पाचन प्रणाली सम्बन्धी सेवा, आँखाको जाँच तथा उपचार, दाँत परीक्षण तथा उपचार, सुगर, प्रेसर लगायतको परीक्षण गरिने छ ।
वडाध्यक्ष प्रकाश खत्रीले आम सर्वसाधारणलाई समयमै शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।