रुकुम पश्चिम -२९, वैशाख ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -१०, तिमिलेमा डबल क्याप स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सानीभेरीबाट दाङको तुलसीपुर जाँदै गरेको स्कार्पियो सोमबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा सानीभेरी -१०, सार्कीमारे निवासी हाल दाङको तुलसीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओली र उहाँको श्रीमती ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ ।
दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको र उपचारको लागि चौरजारी मिसन अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।
परिवारका सदस्य सहित कुलपूजाका लागि दाङबाट रुकुम पश्चिम आएर फर्किने क्रममा लु प्र ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो ।
तीव्र गतिका कारण स्कार्पियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।