रुकुम पश्चिम -५, असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जलवायु उत्थानशील समुदायहरूको प्रवर्द्धन होप परियोजनाबारे अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । सहयोगी हातहरूको समूह साहस नेपाल र ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमको साझेदारीमा सञ्चालन हुन लागेको परियोजनाको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई जानकारी गराउँदै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा लक्षित समुदायबारे जानकारी दिँदै परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले कर्णाली प्रदेशका समुदायहरूको जीवनस्तर सुधार गर्न सामाजिक तथा आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै न्यायपूर्ण, समतामूलक र दिगो समाज निर्माणमा परियोजनाले काम गर्ने बताए ।
सन् २०२६ देखि २०२९ सम्म सञ्चालन हुने परियोजना आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा कार्यान्वयन हुनेछ । परियोजना मार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलता वृद्धि, सामाजिक समावेशीकरण र आर्थिक सशक्तीकरणमा काम गरिने संस्थाका सचिव भीमराज ओलीले जानकारी दिए ।
परियोजनाले जिल्लाका १ हजार ८ सय ५० घरधुरीलाई प्रत्यक्ष रूपमा समेट्ने लक्ष्य लिएको छ । दलित, महिला, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल महिला, युवा तथा किशोरीहरूलाई केन्द्रमा राखेर ७४ वटा समूह र २४ वटा संवाद केन्द्र मार्फत गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
परियोजना अन्तर्गत आठविसकोट नगरपालिकामा ४४ वटा समूह र १४ वटा संवाद केन्द्र तथा बाँफिकोट गाउँपालिकामा ३० वटा समूह र १० वटा संवाद केन्द्र गठन गरिनेछन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रबि केसीले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रवि केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू, होप परियोजनाका एडभोकेसी कोर्डिनेटर हरिप्रसाद अधिकारी, ग्रामीण युवा सरोकार केन्द्रका सचिव भीमराज ओली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले गरेका थिए ।