रुकुम पश्चिम -२८, वैशाख ।
आज देशको सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । जल तथा मौसम विभागका अनुसार हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । तराई भू-भागमा भने आंशिक बादल लाग्नेछ ।
विभागले आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभावले बादल लाग्ने र सामान्यतया वर्षा भइरहेको छ ।